गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले २०८२ साल साउनदेखि २०८२ साल चैतसम्मको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका क्षेत्रमा भएका उपलब्धिहरू, चुनौतीहरू तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइएको थियो।
उक्त प्रतिवेदनमाथि छलफल गर्दै वडा नं. ३ का सदस्य ठाकुर प्रसाद रेग्मी, वडा नं. ८ का सदस्य खिम बहादुर केसी, वडा नं. ५ का सदस्य तप बहादुर पुन तथा वडा नं. २ का सदस्य कुल बहादुर विश्वकर्माले आफ्ना धारणा, सुझाव तथा टिप्पणीहरू प्रस्तुत गर्नुभएको थियो।
यसैगरी गाउँसभाले उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गर्नुभएको विनियोजन ऐन संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, लेखा समितिका संयोजक तप बहादुर पुनले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु रकमलाई संशोधन तथा नियमन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको छ।
शिक्षा क्षेत्रतर्फ महत्वपूर्ण निर्णय लिँदै वडा नं. ४ मा रहेको लुन्ग्दी आधारभूत विद्यालय लाई कक्षा ९ सञ्चालन गर्ने अनुमति प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएको छ। उक्त प्रस्ताव सार्वजनिक सेवा समिति अन्तर्गत शिक्षा तथा स्वास्थ्य उपसमितिको तर्फबाट शिक्षा संयोजक तथा वडा नं. ३ का अध्यक्ष एकेन्द्र खत्रीले पेश गर्नुभएको थियो
गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट करदाता रूपमा विष्णु पुन, उत्कृष्ट उपभोक्ता समिति रूपमा बुढीकुलो बाढी नियन्त्रण उपभोक्ता समिति, उत्कृष्ट जनप्रतिनिधि रूपमा रूप बहादुर पुन, उत्कृष्ट निर्माण व्यवसायी रूपमा सक्षम बिल्डर्स प्रा. लि. तथा उत्कृष्ट संस्था रूपमा जनआश्रित टोल विकास संस्था लाई सम्मान गरिएको हो।
त्यसैगरी उत्कृष्ट कर्मचारीहरूतर्फ सहायक शिक्षा अधिकृत देवी रिजाल, सहायक लेखा अधिकृत महेन्द्र सुवेदी, सब-इन्जिनियर पुकार सापकोटा, सहायक कम्प्युटर अधिकृत शिव शंकर राय यादव तथा सहायक कम्प्युटर अपरेटर पूर्ख बहादुर पुर्जालाई समेत प्रशंसा पत्रसहित सम्मान गरिएको छ।
गाउँसभाले समग्र रूपमा स्थानीय विकास, सुशासन, पारदर्शिता तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा योजनाहरूलाई थप सुदृढ रूपमा कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ।