पाकिस्तालने आफ्नो सबै विमानस्थल र हवाई क्षेत्र बन्द गरेको छ।
बुधबार भारतीय वायु सेनाले पाकिस्तानको एक एफ–१६ युद्धक विमान खसाएसँगै पाकिस्तानले आफ्नो सबै विमानस्थल र हवाई क्षेत्र बन्द गरेको हो।
पाकिस्तानले घरेलुदेखि अन्तर्राष्ट्रिय उडान समेत बन्द गरेको छ। इन्डिया टुडेका अनुसार पाकिस्तानले लाहोर, मुल्तान, फैसलावाद, सिलाकोट तथा इस्लामावादमा रहेका विमानस्थलहरु बन्द गरेको छ।
पाकिस्तानको युद्धक विमान भारतको हवाई क्षेत्रमा प्रवेश गरेपछि भारतले विमानमा आक्रमण गरेको थियो।
बुधबार नै पाकिस्तानले भारतको दुई युद्धक विमान खसाएको दाबी गरेको छ। पाकिस्तानका अनुसार दुई भारतीय पाइलट पाकिस्तानको नियन्त्रणमा छ।
गत फेब्रुअरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणसँगै भारत र पाकिस्तानको सम्बन्ध विग्रिएको छ।
४० भारतीय सेनाको ज्यान जानेगरी भएको उक्त आक्रमण पाकिस्तानस्थित जैस–ए–मोहम्मद समूहले गराएको थियो।
भारतले पाकिस्तान संरक्षित यस समूहको कारवाहीको योजनाकार पाकिस्तान भएको आरोप लगाउँदै आएको छ। पाकिस्तानले उक्त आरोपको खण्डन गर्दै आएको छ।
सोही बीचमा भारतले हिजो मंगलबार पाकिस्तानी भूमिमा प्रवेश गर्दै आक्रमण गरेपछि भारत र पाकिस्तान युद्धको संघारमा पुगेका हुन्।
प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०८:५७