भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर एक किलोमिटर टाढा घाटसम्म पुगेकी छन् । अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर इरानी अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् ।
सुरेन्द्र सिंहको गत शनिबार चार जना हतियारधारीले गोली हानेर हत्या गरेका थिए । प्रहरीले सुरेन्द्रको हत्याको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिसकेको छ ।

उनले सुरेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरी फाँसीको सजायँ दिलाएरै छाड्ने दृढता व्यक्त गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । इरानीले पार्थिव शरीरलाई बोकेको तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
सुरेन्द्रले अमेठी निर्वाचन क्षेत्रमा स्मृति इरानीलाई चुनावमा सघाएका थिए । सो क्षेत्रबाट कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर उनी लोकसभामा निर्वाचित भएकी छन् । अमेठीमा गान्धी परिवारको गढ भत्काउन सुरेन्द्रको पनि योगदान रहेको बताइन्छ ।
इरानीले सुरेन्द्रकी पत्नीलाई पनि भेटेकी थिइन् साथै उनका बच्चालाई आफ्नो बच्चाजस्तै हेरबिचार गर्ने प्रतिवद्धता पनि जनाएकी छन् ।
प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार ०७:४३