आउँदो फागुन १ देखि ११ गतेसम्म संचालन हुन लागेको १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा सघाउन गण्डकी प्रदेशका विद्यालयहरु उत्साहित भएका छन् । महिलाहरुको व्यवस्थापनमा संचालनमा रहेको पर्वतको सामुदायिक रेडियो, रेडियो दिदीबहिनी ९५.२ मेघाहर्जको आयोजनामा हुन लागिरहेको महोत्सव प्रचारप्रसारको लागि सम्पन्न गरिएका विद्यालय कार्यक्रमहरुमा विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिहरुले उत्साह प्रकट गर्दै आवश्यक सहकार्यको लागि प्रतिबद्धता जनाएका रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । प्रचारप्रसार अभियान अन्तर्गत आईतबार बागलुमा रहेको चिल्ड्रेन लाईफ एकेडेमीमा महोत्सवका बारेमा जानकारी गराइएको छ ।
अघिल्लो बर्ष आयोजना गरिएको १२ औँ महोत्सवमा डान्स आइडोलको उपाधि समेत जितेको विद्यालयले महिलाहरुको आयोजनामा भएको महोत्सवबाट विद्यार्थीको शैक्षिक तथा अन्य पक्षको विकासको लागि महत्वपूर्ण काम गरेकाले विद्यार्थीहरुको हितमा महोत्सव रहँदै आएको बताएको छ । कार्यक्रममा बोल्दै रेडियोकी अध्यक्ष चापागाईँले हरेक बर्ष पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुँदै आएको महोत्सव यस बर्ष म्याग्दी र पर्वत जिल्लाको सिमानामा पर्ने वारी बेनी बजारमा आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।
यस अगाडिका महोत्सवहरुमा विद्यालय तथा विद्यार्थीहरुबाट भरपूर सहयोग प्राप्त गरेको बताउँदै उहाँले यस बर्ष पनि महोत्सव सफल बनाउने काममा लाग्न सबै विद्यालयहरुलाई अनुरोध गर्नुभयो ।
नेपालमा विदेशी पर्यटकहरु भित्राएर देशलाई आर्थिक समृद्धिमा लैजाने गरी सरकारले भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर महोत्सवको आयोजना गरिएको हो । फागुन १ देखि ११ गतेसम्म संचालन हुने महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली, भजन लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । झाँकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने छन् ।
१ सय १० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ.एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरहरुलाई एकै ठाउँमा भेला गराउने तयारी समेत भइरहेको रेडियोले जनाएको छ । सदरमुकाम बाहिर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोले जनाएको छ ।
प्रकाशित मिति २०७६ माघ १३ गते सोमबार ११:५२