१४ माघ, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।
आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले भारू २० लाख (३२ लाख रूपैयाँ)मा नै उनलाई किनेको हो ।
दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न पाउँछन् पाउँदैन त्यो हेर्न केही समय कुर्नुपर्छ । टिममा २५ खेलाडी छन् र फस्ट इलाभेनमा पर्न सन्दिपले राम्रै मेहनत गर्नुपर्छ ।
सन्दिपलाई किनेको दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्टदेखि पृथ्वी शाह समेत छन् । पृथ्वी भारतका यू(१९ क्रिकेटर हुन् ।
किन अर्थपूर्ण छ उनको चयन ?
सन्दिपले राष्ट्रिय टोलीबाट लगातार खेल्दै आएपनि नेपालले टी(२० वा एकदिवसीय दुबै मान्यता पाएको छैन । नेपाल अहिले डिभिजन टूको तयारीमा छ ।
यसका बाबजुद सन्दिपलाई किन्नु प्रतिभाको छनोट हो । गत सिजन सनराइजर्स हैदराबादले रसिद खान र मोमम्मद समीलाई किनेको थियो, जुन एशोसिएट प्लेयरको सम्म्मान पनि हो । यसपटक अफगान टिमका मुजीब जदरान र जाहिर खानमाथि बोली लाग्यो । यद्यपि अफगानले पूर्ण सदस्य भइसक्यो ।
सन्दिपको यो आवद्धताले नेपालका अरु खेलाडीका लागि आईपीएलको ढोका खोल्न सक्छ ।
तर, चिराज सुरीको नमिठो विगत पनि भुल्नु हुँदैन । २१ वर्षका उनलाई गुजराजले अप्रत्यासित रुपमा किनेको थियो । तर, उनी एक पटक पनि मैदानमा देखिएनन् । परीणाम उनी यो सिजनको अक्सन लिस्टमा पर्न समेत सकेनन् ।
जब २०१६ को यू(१९ विश्वकपमा आयरल्याण्डविरुद्ध २७ रन खर्चिएर हृयाट्रिकसहित ५ विकेट लिए, सन्दिप सबैको नजरमा परे । त्यो खेल नेपालले जितेको थियो ।
उनी कुल १४ विकेटसहित प्रतियोगिता दोस्रो सर्वा्धिक विकेट टेकर समेत कबनेका थिए । त्यसको तीन महिनापछि नै उनले हङकङमा खेल्ने मौका पाए । त्यही माइकल क्लार्कसँग राम्रो सम्बन्ध बनाएका उनी अष्ट्रेलियासम्म पुगेका थिए ।
पछिल्लो समय सन्दिप राष्ट्रिय टोलीको नियमित सदस्य पनि बनेका छन् ।
प्रकाशित मिति २०७४ माघ १५ गते सोमबार ०३:३१