फागुन ६
महिलाहरुको ब्यवस्थापनमा मात्र पर्वत जिल्लाबाट सञ्चालनमा रहेको रेडियो दिदि बहिनीको आयोजनामा हुन लागेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका खेलहरू भोलीबाट सुरु हुने भएका छन् । प्रतियोगितामा विभागीय टिमहरू नेपाल पुलिस क्लब, ए.पी.एफ, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी र आयोजक दिदीबहिनीको टिम गरेर पाँच समूहका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विजेता बन्ने समूहले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले पचास हजार नगद पाउने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले बताउनुभयो । अघिल्लो वर्षमा भएको तेस्रो संस्करणमा ए.पी.एफ विजेता र पोखराको न्यु डायमन्ड एकेडेमी दोस्रो बनेका थिए । महोत्सवमा पालिका स्तरीय पुरुष भलिबल खेल प्रतियोगिता भने सम्पन्न भइसकेको छ ।
साबिकको धौलागिरीका बागलुङ, पर्वत र म्याग्दी जिल्लाका आठ समूहका बिचमा भएको प्रतियोगितामा अनेरास्ववियू बागलुङको समूह विजेता र म्याग्दीको बेनी नगरपालिकाको समूह उपविजेता बनेका छन् । उनीहरूले क्रमशः एक लाख र पचास हजार रुपैयाँ नगद पुरस्कार पाएको भलिबल खेलका संयोजक शिव आचार्यले जानकारी दिनुभयो । रेडियोको हरेक वर्ष अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसर पारेर गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ । यस वर्ष पनि रेडियोको दसौँ वार्षिकोत्सव तथा १ सय १० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।
प्रकाशित मिति २०७६ फाल्गुण ६ गते मङ्गलबार ११:१८