जलजला गाउँपालिका–४ मोहनचोकमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु

जलजला गाउँपालिका–४ मोहनचोकमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ६ गते मङ्गलबार ११:४१

६ फागुन जलजला गाउँपालिका–४ मोहनचोकमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय र जलजला गाउपालिकाको आर्थिक सहयोगमा जलजला कृषक समूहले कृषि उपज संकलन केन्द्र स्थापनाका लागि भवन निर्माण...

६ फागुन

जलजला गाउँपालिका–४ मोहनचोकमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय र जलजला गाउपालिकाको आर्थिक सहयोगमा जलजला कृषक समूहले कृषि उपज संकलन केन्द्र स्थापनाका लागि भवन निर्माण सुरु गरेको हो ।
भवनको मंगलबार जलजला गाउपालिका–४ का वडा अध्यक्ष भिष्म मल्लले शिलन्यास गर्नुभएको समूहका सचिव युवराज अर्मजाले जानकारी दिनुभयो । वडा अध्यक्ष मल्लले कृषि उपज संकलन केन्द्र सञ्चालन गरेर कृषि उपजको बजारीकरणमा कृषकलाई सुबिधा पुग्ने बताउनुभयो ।

केन्द्र स्थापना र भवन निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारको कृषि विकास निर्देशनालयले ३५ लाख र जलजला गाउपालिकाले पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको सचिव अर्मजाले बताउनुभयो । समूहले मोहनचोकमा जग्गा भाडामा लिएर कृषि उपज संकलन केन्द्र बनाउन लागेको हो ।

 

आगामी बैशाख महिनाभित्र पूर्वाधार तयार गरेर संकलन केन्द्र सञ्चालन गर्ने लक्ष्य राखिएको समूहका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । समूहले जलजला गाउपालिकाको ९ वटै कृषकहरुलाई समेटेर संकलन केन्द्र सञ्चालन गर्न लागेको हो ।

कृषकहरुले उत्पादन गरेको तरकारी, फलफुल, विउबिजन र खाद्यबाली समूहले खरिद र बजारीकरण गर्ने व्यवस्था मिलाउने जनाएको छ । हाल एक सय जना कृषक समूहमा आवद्ध भएका छन् । पाँच सय जना कृषकलाई आवद्ध बनाउने समूहको लक्ष्य छ ।

संकलन केन्द्र सञ्चालन भएपछि कृषकले उत्पादन गरेको कृषि उपजले सहज रुपमा बजार र उचित मूल्य पाउने, बिचौलीया हट्ने र उपभोक्तालाई पनि सुबिधा पुग्ने अपेक्षा गरिएको छ । सचिव अर्मजाका अनुसार प्रति सदस्य दश हजार रुपैयाँका दरले लगानीका लागि रकम संकलन गर्न आव्हान गरिएको छ ।

सहकारी वा कम्पनीको मोडेलमा केन्द्र सञ्चालन गर्ने योजना छ । जलजला गाउपालिका तरकारी खेति, आलु खेति र सुन्तला खेतीका साथै दूध उत्पादनका लागि प्रशस्त सम्भावना भएको ठाउँ हो ।

प्रकाशित मिति २०७६ फाल्गुण ६ गते मङ्गलबार ११:४१
प्रतिक्रिया दिनुहोस