अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र केन्द्रीय सदस्य दावा लामालाई दिइएको जिम्मेवारी खोसेको छ।
बुधबार एन्फाले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई दिइएको सदस्य संघ समितिको जिम्मेवारी खोज्दै अर्का उपाध्यक्ष वीरबहादुर खड्कालाई संयोजक तोकेको छ।
एन्फाले फुटसल कमिटी संयोजक रहेका दावा लामालाई पनि जिम्मेवारीमुक्त गरेको छ। फुटबल कमिटीको नयाँ संयोजकमा केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई तोकिएको छ।
जिम्मेवारी खोसिएका नेम्बाङ र लामा दुवैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका थिए। पछिल्लो समय राष्ट्रियताको विषयमा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति विवादित बनेपछि दुवैले राजीनामा मागेका थिए।
दुई वर्षअघि भएको निर्वाचनमा शेर्पा प्यानललाई विजयी गराउन दुवैको महत्वपूर्ण भूमीका थियो। दुवै जनाले निर्वाचनमा लोकप्रिय भोट प्राप्त गरेका थिए।
निर्वाचनमा शेर्पाको सारथी बनेका नेम्बाङ र लामा सहितकालाई २०७५ भदौ ५ गते उपसमितिको संयोजक जिम्मेवारी तोकिएको थियो।
दुई वर्ष नपुग्दै जिम्मेवारीबाट मुक्त भएको विषयमा आफूलाई जानकारी नभएको नेम्बाङ र लामाले बताए। दुवैले पूरा कार्यकालका लागि संयोजक तोकिएको बताएका छन्।
‘पूरा कार्यकालका लागि संयोजक तोकिएको हो। अध्यक्षज्यूलाई मेरो कुन काम चित्त बुझेन सोध्छु,’ लामाले सेतोपाटीसँग भने। नेम्बाङले पनि आफूलाई संयोजकबाट हटाउने काम विधान विपरित भएको दाबी गरे।
प्रकाशित मिति २०७७ असार ७ गते आईतबार ०६:०३