दक्षिण चीन सागरः अमेरिकी नौसेनाले चेतावनी बाबजुद फेरि सैन्य अभ्यास गरे

दक्षिण चीन सागरः अमेरिकी नौसेनाले चेतावनी बाबजुद फेरि सैन्य अभ्यास गरे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन ३२ गते आईतबार ०८:२४

चीनको चेतावनी बाबजुद अमेरिकी नौसेनाले गत शुक्रबार विवादित जलक्षेत्र दक्षिण चीन सागरमा पुनः सैन्य अभ्यास गरेको छ। अमेरिकी नौसेनाले एक विज्ञप्ती जारी गर्दै दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको पुष्टि गरेको अल्जाजिराले उल्लेख...

चीनको चेतावनी बाबजुद अमेरिकी नौसेनाले गत शुक्रबार विवादित जलक्षेत्र दक्षिण चीन सागरमा पुनः सैन्य अभ्यास गरेको छ।

अमेरिकी नौसेनाले एक विज्ञप्ती जारी गर्दै दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको पुष्टि गरेको अल्जाजिराले उल्लेख गरेको छ।

उक्त सैन्य अभ्यासमा यूएसएस रोनाल्ड रेगन युद्धपोतको प्रयोग भएको थियो। युद्धक विमानहरु पनि उडाइएका थिए।

अमेरिका र चीनबीचको विवाद उत्कर्षमा रहेका बेला अमेरिकी नौसेनाले सैन्य अभ्यास गरेको हो। गत महिना पनि अमेरिकाले चीनले दाबी गर्दै आएको सोही क्षेत्रमा सैन्य अभ्यास गरेको थियो।

जसको चीनले चर्को स्वरमा विरोध गर्दै अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको थियो।

चीनले यस विवादित जलक्षेत्र दक्षिण चीन सागरमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको जनाएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ।

प्रकाशित मिति २०७७ साउन ३२ गते आईतबार ०८:२४
प्रतिक्रिया दिनुहोस