गीता पौडेल
काठमाडौं । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवाबाट निवृत्त भएको छ महिना अवधि पूरा नभएसम्म अर्को बीमा कम्पनीको सोही जिम्मेवारीमा नियुक्त हुन नपाउने भएका छन् ।
बीमा समितिले जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्र्देिशका, २०७५’ अनुसार बीमा कम्पनीका सीईओ सेवाबाट निवृत्त भएको छ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमा कम्पनीको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन नपाउने भएका हुन् ।
निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतले कम्पनी सचिवको रुपमा समेत काम गर्न नपाउने व्यवस्था गरिएको भने कार्यकारी प्रमुखले पदमा रहुन्जेल र पदबाट हटेको एक वर्षसम्म पनि कम्पनीको सेयर खरिद बिक्री गर्ने तथा संचालक सर्भेयर, बीमा दलाल, सहजकर्ता परामर्शदाता भएर काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले गरेको व्यवस्था जस्तै बीमा समितिले पनि संस्थागत सुशासन सम्बन्धि निर्देशिकामार्फत बीमा कम्पनीहरुलाई नियमन गर्न खोजिएको छ भने अधिकांश व्यवस्था राष्ट्र बैंकसँग मिल्दाजुल्दा रहेका छन् ।
निर्देशिकाले यसअघि सिइओ बन्न स्नाकोत्तर तह उत्तिर्ण हुनुपर्ने व्यवस्था रहेकोमा शैक्षिक योग्यतामा विभिन्न व्यवस्था लागू गर्दै विभिन्न विकल्पसहित बाटो खोलिदिएको छ । प्रमुख कार्यकारी अधिकृत हुन बीमा, वित्त, व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर उपाधि हािसल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए आठ वर्ष वा दुबै क्षेत्रमा भएमा बीमामा एक बर्षको अनभुव सहित कम्तिमा सात वर्षको अनुभव हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाले अनुभव भएका तर स्नाकोत्तर नभएकाहरुलाई पनि सिइओ बन्ने अवसर प्रदान गरेको छ । चाटर्ड एकाउटेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, र कानुन विषयमा स्नातक हासिल गरि व्यवस्थापक तहमा बीमा क्षेत्रमा १२ वर्ष कार्य गरेको, वित्तीय क्षेत्रमा हकमा १५ वर्ष वा दुबै क्षेत्रमा एक वर्षको अनुभव सहित १३ वर्ष काम गरेकाले पनि सीईओ बन्न पाउने भएका छन् । तीनै विषयमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच वर्ष, वित्तीय क्षेत्रमा आठ वर्षको अनुभव भएकाले सिईओ बन्न पाउने व्यवस्था निर्देशिकाले गरेको छ । बीमा कम्पनीका सीइओले पदमा वा पदबाट हटेको एक वर्षसम्म कुनैपनि कम्पनीको शेयर खरिद बिक्री गर्ने तथा सञ्चालक सर्भेयर, बीमा दलाल, सहजकर्ता वा परामर्शदाता भएर काम गर्न रोक लगाइएको छ ।

बैंकमा जस्तै एउटा कम्पनीमा दुई कार्यकालसम्म सिइओ बन्न पाइनेछ भने ७० वर्ष उमेर पुगेका व्यक्ति सिइओ बन्न अयोग्य हुने व्यवस्था गरिएको छ । प्रत्येक पाँच–पाँच वर्षमा बीमा कम्पनीहरुले डिडिए गराउनुपर्ने व्यवस्था गरिएको निर्देशिकामा गरिएको छ । कुनै पनि कम्पनीमा सिईआ बन्न कम्पनीको सञ्चालक समितिमा चार वर्षको व्यवसायीक योजना पेश गर्नुपर्ने र समितिले त्यो व्यवसायीक योजना, तलब सुविधा र करार सम्झौता विवरणहरु बीमा समितिमा बुझाउनु पर्ने प्रावधान निर्देशिकामा राखिएको छ । एकै घरको दुई व्यक्ति, गाउँपालिका, पदमा रहेका प्रदेश सभा संघिय सभाका पदाधीकारीहरु र संवैधानिक पद धारण गरेका व्यक्ति पनि सञ्चालक हुन नपाउने व्यवस्था गरिएको छ ।
छ महिनाभित्र सबै बीमा कम्पनीहरुमा अनिवार्य डेपुटी सिइओ, विदेश भ्रमण अनुमोदन गराउनुपर्ने भन्दै निर्देशिकाले बीमा कम्पनीमा आगामी छ महिनाभित्र सबै बीमा कम्पनीहरुमा अनिवार्य डेपुटी सिईओ नियुक्ती गरिसक्नुपर्ने उल्लेख छ ।
निर्देशिका मार्फत बीमा समितिको सञ्चालक हुन कम्तीमा २५ वर्ष पुरा गरि बीमा समितिले तोकेको क्षेत्रमा स्नातक गरेको हुनुपर्नेछ । नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको, विदेशी वा स्वदेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा पाँच बर्षको अनुभव हुनपर्ने निर्देशिमा उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृत सात दिन वा सो भन्दा बढी समय अनुपस्थित हुने भए डेपुटी सीईओ तोकेर त्यसको पूर्व जानकारी बीमा समितिलाई गराउनुपर्ने व्यवस्था निर्देशिमार्फत गरिएको छ । यसअघि बीमा समितिबाट स्वीकृति गराएर सिधै विदेश भ्रमण गर्न सक्ने व्यवस्था रहेकोमा अब सिइओले विदेश भ्रमणमा जानुपर्दा बीमा कम्पनीको सञ्चालक समितिबाट समेत अनुमोदन गराएपछि बीमा समतिलाई जानकारी गराएर जान सक्ने निर्देशिकामा उल्लेख छ ।
प्रकाशित मिति २०७५ बैशाख ३१ गते सोमबार ०४:४६