फ्रान्स अन्तिम १६ मा

फ्रान्स अन्तिम १६ मा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०४:३४

एकाटेरिनबर्ग — युवा फरवार्ड किलियन एमबाप्पेको गोलमा पेरुलाई १-० ले पराजित गर्दै फ्रान्सले फिफा विविश्वकप २०१८ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । बिहीबार समूह 'सी' को दोस्रो खेलमा फ्रान्सले विजय यात्रालाई जारी राख्दै लगातार दोस्रो...

एकाटेरिनबर्ग — युवा फरवार्ड किलियन एमबाप्पेको गोलमा पेरुलाई १-० ले पराजित गर्दै फ्रान्सले फिफा विविश्वकप २०१८ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । बिहीबार समूह ‘सी’ को दोस्रो खेलमा फ्रान्सले विजय यात्रालाई जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

यससँगै फ्रान्स उरुग्वे र रुसपछि दोस्रो चरणमा पुग्ने तेस्रो टोली बन्यो।
खेलको ३४ औं मिनेटमा एमबाप्पेले सहजै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। फरवार्ड ओलिभिएर जिरुडको प्रहार डिफेन्डरको खुट्टामा लाग्दा पेरुका गोलरक्षक पेड्रो गल्लेसेलाई बिट भएपछि एम्बाप्पेले खाली पोस्टमा गोल गरेका थिए। यस गोलसँगै १९ वर्ष १ सय ८३ दिनका एमबाप्पे फ्रान्सका लागि विश्वकपमा सबैभन्दा कम उमेरका गोलकर्ता पनि भए।
खेलको सुरुआती समय पकड जमाउन नसकेको फ्रान्सले १५ मिनेटपछि पोग्बाको मिडफिल्ड प्रदर्शनसँगै लय समात्यो। जिरुडको पासमा एन्टोइन ग्रिज्मनको प्रहार गोलरक्षक गल्लेसेले बचाए। गोल गरेको केहि समयमै लुकास हर्नान्डेजले अग्रता दोब्बर पार्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पेरुले पराजयको सामना गरको हो। दोस्रो हाफमा पेड्रो अक्विन्होको प्रहार पोस्टमा लागेर फर्कनु टोलीको दुर्भाग्य थियो। त्यसअघि कप्तान पाओलो गुरेरोको शक्तिशाली प्रहार पनि फ्रान्सेली कप्तान ह्युगो लोरिसले बचाएका थिए। राष्ट्रिय टोलीको लागि सयौं खेल खेलिरहेका गोलरक्षक लोरिसले खेलमा कमि मिहिनेत गर्नुपरेको थियो।
सन् १९८२ यता पहिलोपटक विश्वकप खेलिरहेको पेरु भने यस पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा डेनमार्कसँग १-० ले पराजित पेरु लगातार दोस्रो हारसँगै अंक तालिकाको पुछारमा छ। पेरुले अन्तिम खेलमा प्रतिष्ठाको लागि अस्ट्रेलियाको सामना गर्नेछ। फ्रान्सले भने अन्तिम खेलमा समूह विजेता बन्न डेनमार्कसँग बराबरी खेले पुग्नेछ।

प्रकाशित : असार ८, २०७५ ०५:५३

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०४:३४
प्रतिक्रिया दिनुहोस