काठमाडौँ — प्रहरीले गोली हानी लुटेरा समूहका नाइकेलाई बिहीबार राति पक्राउ गरेको छ । महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट खुँडे भन्ने अम्बरबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेका तामाङ हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका थिए।
नियन्त्रणमा लिन लाग्दा प्रहरीलाई आक्रमण गर्न खोजेकाले २ राउन्ड गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउन्ड, अमेरिकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको बिटा ८ थान बरामद गरिएको छ।
तामाङ नेतृत्वको समूहले विभिन्न व्यक्तिहरुलाई प्रलोभन र हतियार देखाइ तर्साएर लाखौं लुटेका प्रहरीले जनाएको छ। ती समूहले आफूसँग डलर रहेको र त्यो सटही गरेमा फाइदा हुनेजस्ता बाहाना पारी एकान्तमा बोलाएर सर्वसाधरणलाई हातहतियारसहित धम्क्याएर लुट्ने गरेका थिए। प्रहरीका अनुसार ती समूहले जेठ २४ गते काठमाडौं साँखु इन्द्रायणी पुल नजिक ताप्लेजुङ फुङलिङका वीरेन तामाङको १९ लाख ६० हजार, २८ गते कपन संयुक्तपार्कबाट ताप्लेजुङ फुललिङकै राजकुमार बानियाँको ४ लाख ९० हजार र भक्तपुर सूर्यविनायक जंगलमा स्याङ्जा चापाकोटका राज भण्डारीको साथमा रहेको ८ लाख लुटेका थिए।
प्रकाशित : असार ७, २०७५ २०:२७
प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०४:४९