गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले उनको साथ छाडेका छन् । स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री गुरुङले संसद विघटन गरेर निर्वाचनमा जाउँभनेपछि आँफुले उनको साथ छाडेको वताए ।
मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मनाङेले बताए । सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको उनले वताए । ‘सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन्’ उनले भने, ‘मलाई साथ देउ विघटन गरेर निर्वाचन गरम् भन्छन् । मुस्ताङका दुई सांसद र राजीव पहारी पनि आएका थिए । मैले साथ दिन सक्दिन भनें ।’
उनले संसद जोगाउन चाहिने ३१ मत पुर्याउने जिम्मा आफ्नो भएको समेत दाबी गरे । ‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग छु तर संसद विघटनको पक्षमा जान्नँ,’ मनाङेले भने, ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के को मन्त्री बन्नू ?’
१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको दिन सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्याए ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने निश्चित जस्तै छ । प्रदेशसभामा नेकपा एमालेका २७ जना सांसद छन् ।
मनाङेले साथछाडेसंगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । विपक्षमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाको २ र जनमोर्चाका २ सांसद छन् । पद थमौती भएका जनमोर्चाका सांसद कृष्ण थापा भने मुख्यमन्त्रीको पक्षमा उभिएका छन् । ६० सदस्यीय प्रदेशसभामा वहुमत पुराउन ३१ मत चाहिन्छ ।
मनाङेले साथदिए अव विपक्षी गठवन्धनमा ३१ मत पुग्छ । विपक्ष गठवन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।
प्रकाशित मिति २०७८ जेठ २७ गते बिहिबार ०२:१३