केही समययता नेपालीहरूको जीवनशैली तीव्र गतिमा परिवर्तन हुँदैछ । लबाइ–खबाइ, खानपान, दैनिक प्रयोगका सामग्री आदिका साथै जीवनशैली पनि अनौठो तरिकाले बदलिइरहेको छ । पहिले सम्भ्रान्त तथा राजपरिवारका मानिसहरू (जो विदेश आवातजावत गर्थे) ले मात्र ब्रान्डेड पहिरन, एसेसरिज तथा खाद्यपदार्थ देख्न र प्रयोग गर्न पाउँथे । यस्ता कुरा आममानिसको पहुँचमा थिएनन् । अहिले भने आमनेपालीले समेत ब्रान्डेड सामग्री प्रयोग गर्न थालेका छन् । यस्तो परिवर्तन देखा परेको धेरै भएको छैन ।
अहिले साधारण नेपाली पनि विदेश आवतआवत गर्न थालेका छन् । सुरुमा विदेश पुगेकाहरू ब्रान्डेड पहिरन, चकलेट–वाइनलगायत ग्याजेट आदिको पर्चेजिङमा बढी रमाए । रोजगारीका लागि खाडी मुलुक जाने प्राय: सबैले पहिलोपटक घर फर्किंदा अरू केही नल्याए पनि राम्रो ब्रान्डको एउटा टेलिभिजन ल्याएकै हुन्थे । पछिल्ला दिनमा विदेशबाट बढीजसो एसेसरिज, पहिरन, सुन–हीरा तथा ग्याजेट्स भित्रिरहेका छन् । यद्यपि अब यस्ता उच्चस्तरीय ब्रान्डका सामग्री उपभोग गर्न शारीरिक रूपमै विदेश पुगिरहनु पर्दैैन । इन्टरनेटको पहुँचका कारण हातमा भएको मोबाइलमा उपलब्ध एपको सहायताले यस्ता सामान घरमै उपलब्ध हुनसक्छन् ।
प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०९:३३