सामाजिक सञ्जालले कोरोनाबारे भ्रम फैलाइरहेको छ : अध्ययन

सामाजिक सञ्जालले कोरोनाबारे भ्रम फैलाइरहेको छ : अध्ययन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०१:५०

कोरोना भाइरसबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएका कतिपय सूचना गलत हुने र त्यसैलाई विश्वास गर्नेको संख्या धेरै भएकाले भ्रम फैलिएको हो। अमेरिकीहरूको...

कोरोना भाइरसबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ।

सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएका कतिपय सूचना गलत हुने र त्यसैलाई विश्वास गर्नेको संख्या धेरै भएकाले भ्रम फैलिएको हो।

अमेरिकीहरूको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाबारे गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको पाइएको हो।

सर्वेक्षणमा अमेरिकाभरिका २१ हजार जना सहभागी भएका थिए। सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो।

सर्वेक्षणमा सहभागी भएकामध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ता, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताले ती सामाजिक सञ्जालमा आएका सूचनामा विश्वास गर्ने गरेको बताएका थिए।

अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयको सञ्जालमार्फत सर्वेक्षण गरिएको जनाइएको छ। उनीहरूका अनुसार ८ प्रतिशत उत्तरदाताले फेसबुकको म्यासेन्जरबाट आफूहरूले सूचना पाउने गरेको जवाफ दिएका थिए।

त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्तामध्ये ४ प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ।

सर्वेक्षणमा सहभागीले सामाजिक सञ्जालसँगै स्थानीय टेलिभिजन, समाचारमूलक अनलाइन, एप्स, सामुदायिक पत्रिकालगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए।

सर्वेक्षणबाट प्राप्त विवरणलाई नर्थवेस्ट युनिभर्सिटी (एनयू) को वेभसाइटमा बुधबारदेखि राखिएको छ।

‘सर्वेक्षणले सामान्यतः कोरोनाविरुद्ध भ्रम फैलाउन सामाजिक सञ्जालले सहयोग गरेको देखाएको छ,’ एनयूको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भने।

अध्ययनकर्ताका अनुसार तुलनात्मक रूपमा वृद्ध व्यक्तिभन्दा ४५ बर्षभन्दा कम उमेरका धेरै व्यक्तिले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्क प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ। गलत सूचनाको सिकार भएका ११ जनामध्ये ८ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०१:५०
प्रतिक्रिया दिनुहोस