कोरोना खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

कोरोना खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०६:४६

कोरोना भाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड-१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ। डब्ल्यूएचओका आपत्कालीन...

कोरोना भाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड-१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ।

डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन्। गत वर्षको अन्त्यमा चीनमा कोभिड-१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ।

सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ। हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ। माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ।

उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए। तर उनले भने, ‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्।’ माइक रायनले सरकारहरूलाई कोभिड(१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन्।बीबीसी

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०६:४६
प्रतिक्रिया दिनुहोस