नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात

नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ११ गते आईतबार ०५:२४

नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा...

नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्।

अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा फलेका स्याउ उपभोग गरिरहेका छन्। फितलो सरकारी तयारीले नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी स्याउ खान बाध्य छन्।

सरकारले स्याउसहितका फलफूलजन्य वस्तुको उत्पादन बढाएर बजार व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि एक वर्षमै साढे चार अर्ब रुपैयाँको विदेशी स्याउ आयात भएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चार अर्ब ६० करोड ८४ लाख २९ हजार रुपैयाँको ६ करोड ५२ लाख ५० हजार किलो स्याउ आयात भएको छ। चालु आर्थिक वर्ष ०७७÷७८ को पहिलो दुई महिना साउन र भदौमा मात्र चीन, भारत र इन्डोनेसियाबाट ८१ करोड ५७ लाख ६४ हजार रुपैयाँको स्याउ आयात भएको छ।

मुलुकमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ। गत वर्ष छिमेकी मुलुक चीन र भारतबाट मात्र नभएर अमेरिकाबाट एक करोड १७ लाख ३५ हजार रुपैयाँको ६० हजार ६० किलो स्याउ आयात गरिएको थियो।

अहिले जुम्लामा फुजी स्याउ किलोको ८० रुपैयाँमा बिक्री भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिबार फुजी स्याउको होलसेल मूल्य प्रतिकिलो दुई सय ९५ रुपैयाँ छ। झोलेको स्याउको मूल्य किलोको एक सय ४५ रुपैयाँ रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति २०७७ असोज ११ गते आईतबार ०५:२४
प्रतिक्रिया दिनुहोस