नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा हो ?

नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा हो ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ६ गते बिहिबार ०२:१४

  बिहीबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा जान लागेको संकेत गरे । उनले स्टाटसमा लेखे, ‘फेरि जहाज हल्लिन...

 

बिहीबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा जान लागेको संकेत गरे ।

उनले स्टाटसमा लेखे, ‘फेरि जहाज हल्लिन थाल्यो – पाइलट थोकेको हो कि मौसम बदलिएको हो ? गन्तव्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर लाग्छ ।’

उनको यो स्टाटसले उनी लगायत नेकपाको प्लेनमा पछाडि बसेका नेता तथा कार्यकर्ता असाध्यै डराएको अनुभूति गरेको पाइन्छ ।

जब जहाज हल्लिन्छ तब त्यसले निम्त्याउने दुर्घटना नै हो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको नेकपाको बडेमाको जहाजले यदि नियन्त्रण गुमायो भने त्यो क्रयास हुन्छ । यदि क्रयास भयो भने त्यसको परिणाम सबैलाई अवगतै छ ।

रिजालले प्रश्न गरेका छन् कि पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? यसले भन्छ यदि यो जहाजलाई सही अवतरण गर्ने हो भने पहिले पाइलट र मौसमको अवस्था जानौं । केले गर्दा जहाज हल्लियो । त्यसको पत्तो लागेको छैन ।

तर रिजालले ‘गन्तव्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहा हुनुपर्ने हो’ भनी जुन वाक्य लेखेका छन् यसले अब नेकपा फुटको संघारमा पुग्यो भन्ने संकेत गरेको छ ।

रिजाल जस्ता थुप्रै नेताका प्रतिनिधि प्रतिक्रिया प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी सत्ता र पार्टी संचालन गर्दाका परिणाम हुन् ।

गत असारमा नै प्लेन क्रयास हुने अवस्थामा पुगेको थियो । जब ओलीले आफू प्रधानमन्त्री भएकै बेलामा भारतले आफूलाई हटाउन चाहेको र त्यसमा आफ्नो दलका शीर्ष नेताहरुले दलालको भूमिका खेलेको आरोप ओलीले लगाएका थिए त्यति नै बेला शीर्ष नेताहरुले हिसाब किताब गर्नुपर्ने थियो ।

स्थायी कमिटी बैठक चलिरहेका बेलामा नेताहरुले त्यही बैठकबाटै निर्णय गर्नुपर्दथ्यो । तर ओलीले पार्टीको चाबी र साँचो आफैले राखेका कारणले पनि कहिले बैठक स्थगित गराए, कहिले लम्ब्याए ।

अनि त्यतिबेला संगठित भएको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल–झलनाथ खनाल–बामदेव गौतम पक्षलाई ओलीले टुक्रयाउन खोजे । टुक्र्याए पनि ।

माधव नेपाललाई बेवास्ता भयो । प्रचण्ड ओलीको आश्वासनको चास्नीमा डुबे । कार्यकारी अध्यक्ष पाइहाले पनि । झलनाथलाई सर्प पाल्न पैसाको जोहो गरिदिए र बामदेवलाई मन्त्री बनाउने आश्वासन दिएर उक्त इतर पक्षको बलियो गठबन्धन तोड्न सफल भए ।

माधवकुमार नेपाल पक्षलाई अगाडि पर्न नै दिएनन् । किनकि तर्क गरेर यदि बलियो रुपले अगाडि अगाडि आउन सक्थ्यो त माधव नेपाल पक्ष । त्यसैले ओलीले भेटसमेत गरेनन् ।

त्यतिबेला प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्नेमा स्थायी कमिटी बैठक थियो । ओलीले आफ्नो कुटील गोटी चाल्दा चाल्दै त्यो समयलाई व्यवस्थापन गर्न सके ।

स्थायी कमिटीले एउटा गम्भीर निर्णय गर्यो अब आइन्दा ओलीले सरकार चलाउँदा शीर्ष नेताहरुले राय लिने र प्रचण्डले पार्टी चलाउँदा पनि शीर्ष नेताहरुको राय लिने ।

तर त्यसलाई ओलीले लत्याइदिए । हेर्दाहेर्दै उनले मन्त्रिपरिषद्मा बिना सहमति आफ्ना मान्छे भरे । राजदूत नियुक्तिका लागि पनि आफ्ना मान्छेलाई सिफारिस गरे । त्यस्तै सरकारको मूख्य सचिव पनि आफ्नै एकलौटी निर्णयमा फेरे ।

ओलीले पटक पटक प्रचण्डसँग भेट गरे पनि कुनै सल्लाह र राय नै लिएनन् । अन्ततोगत्वा प्रचण्ड पंगू नेता गनिएका छन् । प्रश्न उठ्ने गरेको छ – आखिर प्रचण्ड के खान ओलीले बोलाएपछि लुरुलुरु बालुवाटार जान्छन् ?

ओलीले आफूखुशी काम गरिरहेका छन् । जनताका कुरा सुनिरहेका छैनन् । हुँदाहुँदा कोरोना भाइरसको महामारीको उपचार सरकारले नगर्ने घोषणा गर्दिए । यसमा नेताहरुको विरोध भइरहेको छ । माधव नेपाल पनि बोलेका छन् ।

नेपालसँग साउनदेखि अहिलेसम्म ओलीले कुरासमेत गरेका छैनन् । बामदेवलाई घर न घाटको बनाइएको छ । राष्ट्रियसभा सांसद बनाए पनि त्यसको वैधानिकताबारे मुद्दा परेपछि सर्वोच्च अदालतमा विचाराधीन छ । स्रोतका अनुसार उनको मुद्दा ओलीको चाहनामा लम्ब्याइएको हो ।

गौतम न त ओलीको समर्थनमा चिच्याउन सकेका छन् न त प्रचण्ड–नेपालतिर जान लागेका छन् । तर पटक पटकको धोकाका कारण अब प्रचण्ड–नेपाल नफुट्ने गरी जोडिइरहेको स्रोतको दावी छ । जोडिन फेरि पनि फेबिकलको काम गौतमले गर्दैछन् ।

यो परिस्थिति समयले निम्त्याएको दावीसमेत गरिएको छ । ओलीले सबै नेतालाई दिएको धोकाको हिसाबकिताब गर्न ढिला भएको निष्कर्षमा नेताहरु पुगेको समेत बताइन्छ ।

अझ कर्णाली प्रदेशमा सत्ता समीकरणको विषयलाई लिएर अहिले गम्भीर छलफल भइरहेको छ । सम्भवतः यो घटनाले पनि ओलीलाई अझ एक्ल्याउन बल मिल्ने देखिएको छ ।

कर्णाली प्रदेशको विवाद चर्कदै जाँदा ओलीले माधव नेपाललाई बालुवाटारमा बोलाएर गत मंगलबार फकाउने कोशिस गरे । नेपाललाई ओलीले कर्णाली विवादमा मौन बस्न आग्रह गरे । प्रचण्डलाई गलाउन नसकेपछि ओलीले माधव नेपाललाई बोलाएका थिए ।

कर्णालीको समस्या समाधान गर्ने विषयमा ओली र प्रचण्डबीच मत बाझिएको छ । ओलीले जहिले फकाउनेमात्र तर व्यवहारमा कहिल्यै नरम नहुने भएसँगै यसपटक प्रचण्ड पनि कठोर बनिरहेका छन् ।

सोतका अनुसार इतर पक्ष बलियो भएर अगाडि बढ्दैछ । बालुवाटारमा भएको दुई अध्यक्षको भेटघाटमा ओलीले पुरानै अवस्थामा फर्कन दुवै पक्षलाई आग्रह गरिने बताएपछि प्रचण्डले प्रदेशको निर्णय गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने जिकिर गरेका थिए । दुई अध्यक्षबीच मत बाझिएपछि नेपालसँग ओलीले छलफल गरेपनि नेपालले पनि खासै साथ नदिएको स्रोतको दावी छ ।

यसले पनि स्पष्ट भन्छ कि असारको तिक्ततालाई भदौ अन्तिममा आएर चिनियाँ प्रभुले पार्टीको फुटलाई मिलाउन सफल भएका थिए । तर अहिले आएर कुन प्रभुले पार्टी मिलाउलान् त भन्ने चाँसो एकाथरिलाई छ भने एकथरी अब ओलीकै भरोसमा अगाडि जाने हो भने नेकपाको प्लेन क्रयास हुने निश्चित भएको तर्क गरिरहेका छन् ।

प्रकाशित मिति २०७७ कार्तिक ६ गते बिहिबार ०२:१४
प्रतिक्रिया दिनुहोस