सुन्तला बोटमै सुक्न थाल्यो, किराको प्रकोपले बोट नै रित्तै

सुन्तला बोटमै सुक्न थाल्यो, किराको प्रकोपले बोट नै रित्तै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ३० गते आईतबार ०४:३१

बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला सुन्तला...

बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला सुन्तला बिग्रिएपछि किसान चिन्तित देखिएका छन्। बर्षेनी सुन्तला फलेको सुन्तला विक्री गरेर घर खर्च चलाउँदै आएका सोचेन्द्र रोकाको बोटमा पहेंलपुर हुने सुन्तला औसा किराले नष्ट गरेको छ । नयाँ र पुरानो बोट सुक्ने र पाकेको सुन्तला झारेर रित्तो हुन थालेको रोकाले बताए । ‘बोट सुक्ने र सुन्तला टिप्ने समयमा बोटबाटै सुन्तला झर्न क्रम रोकिएको छैन’ उनले भने । दुईदशक देखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएकी भकिम्ली राखुकी अगुवा सुन्तला कृषक मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् ।
मनसुनमको समयमा अधिक बर्षाले क्षती पु¥याएको सुन्तलाको बोटमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि उत्पादनमा करिब ५० प्रतिशत गिरावट आउने पुनले बताईन् ।‘यसपटक उत्पादन ह्वात्तै घटेको छ,‘टिप्ने तयारीमा रहेको सुन्तला भुईभरी झरेको छ’पुनले भनिन् । उनले लटरम्मै फलेको रुख नै झरेर रित्तो हुन थालेपछि स्थानीयले रोग नियन्त्रणका लागि प्रयास गरेपनि सफल नभएको बताईन् । किराको संक्रमणका कारण विगतका बर्षको तुलनामा दोब्बर क्षती भएको किसानको भनाई छ । जिल्लामा सुन्तलाको पकेट क्षेत्र मानिने भकिम्लीबाट गतबर्ष करिब दुई करोडको सुन्तला निर्यात भएको वडा अध्यक्ष पदम बहादुर पुनले बताए । ‘किरा लागेर बोट ओइलियो भनेर किसान चिन्तित छन्,‘बोटविरुवाको स्यहारसुसार गरेपनि सफल हुन सकेको छैन्’ पुनले भने ।
करिब ११ हजारभन्दा धेरै नयाँ बिरुवा समेत अनुदानको रुपमा उपलब्ध गराइएको र लगातार उत्पादन बढ्ने अवस्थामा अज्ञात रोगले उत्पादनमा गिरावट आएको उनले बताए। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोनमार्फत रोकथामका लागि विषाधि प्रयोग गरेपनि किरा मार्न नसकिएको वडा अध्यक्ष पुनको भनाई छ । पाँचबर्षभित्र भकिम्लीबाट मात्रै ५ करोडभन्दा धेरैको सुन्तला विक्री गर्ने गरी वडाले समेत अनुदान र बिरुवा वितरणमा प्राथमिकता दिएको छ । उनले कतिपय किसानले बोटमा पानी, मलजलमा समेत ध्यान नदिने, विषादीको मात्रा मिलाउन नसक्दा फल दिने बेलामा बोट नै मरेको प्राविधिकको सुझावपछि फिल्डमै प्राविधिकलाई परिचालन गर्न समेत अनुरोध गरिएको बताए । भकिम्लीमा सानाठुला गरी दुईसय घरधुरीले सुन्तला खेती गरेका छन् ।
किराको प्रकोप देखिएपछि किसानलाई झरेको सुन्तलाको किरा नष्ट गरेमा अर्को वर्ष रोकथाममा सहज हुने सुझाव समेत दिएका छन् । म्याग्दीमा ‘व्याक्ट्रोसेरा मिनाक्स’ नामको किराको संक्रमणले समेत किसानलाई सताउने गरेको छ । थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि कृषकहरुको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गैरहेको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लाको ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानी गर्ने कार्टनुमा अनुदानका गतिविधिमा कृषकको माग अनुसार सम्बन्धित निकायबाट भने सहयोग हुनसकेको छैन् । जिल्लामा बार्षिक १७ करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति २०७७ कार्तिक ३० गते आईतबार ०४:३१
प्रतिक्रिया दिनुहोस