मंगलबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको असहमतिबीच अर्को दिन बुधबार सचिवालय बैठक आह्वान गरेको थियो । मंगलबारको सचिवालय बैठकमा ओलीले केही दिन अनौपचारिक छलफल गरेर मात्र औपचारिक बैठक बस्नुपर्ने प्रस्ताव गरेका थिए । १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्नुपर्ने उनको अडान थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यहरूले छलफल, सहमति, असहमति र निर्णयका सबै प्रक्रिया बैठकबाटै मात्र गर्नुपर्ने अडान राखे । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार नै सचिवालय बैठक बोलाउने निर्णय गरेका थिए । आफ्नो असहमतिबीच बुधबार सचिवालय बैठक बोलाइएपछि ओलीले सहभागी नहुने जानकारी गराएका थिए ।
बुधबार : ओली अनुपस्थित बैठक, निर्णय पनि
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी नभए पनि बुधबार अध्यक्ष प्रचण्डसहित सचिवालयका आठ सदस्यको बैठक बस्यो । बैठकले बिहीबारका लागि पहिला नै तय भएको स्थायी कमिटी आइतबार सार्ने निर्णय गर्यो । त्यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय लिएको थियो । बैठकपछि वरिष्ठ नेता खनालले ओलीको अनुपस्थितिमा पनि पार्टी बैठक बस्ने र निर्णय लिन सक्ने उदाहरण स्थापित भएको प्रतिक्रिया दिएका थिए ।
शनिबार : ओलीको असहमतिबीच प्रस्ताव स्थायी कमिटीमा
आंशकाबीच शनिबार सचिवालय बैठकमा ओली उपस्थित भए । तर, उनको असहमतिबीच बैठकले आइतबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ र कार्यसूचीसमेत तय गरेको छ । बैठक अगाडि ओली र प्रचण्डबीच केहीबेर ‘वान अन वान’ छलफल भएको थियो । ओली र प्रचण्डबीच २६ दिनपछि शनिबार ‘वान अन वान’ संवाद भए पनि कुनै सहमति भने हुन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा दुवै अध्यक्षका प्रस्ताव र पत्रहरू छलफल गर्ने तयारी छ । यता, शनिबारको सचिवालय बैठकमा पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान दोहो¥याउँदै त्यसलाई लिएर स्थायी कमिटीमा जान नसकिने अडान राखेका थिए । तर, सचिवालयमा अरू सबै सदस्य सहमत भएपछि दुवै प्रस्ताव अघि बढेका छन् ।
शनिबार : कार्यदल बनाउने ओलीको प्रस्ताव पनि अस्वीकार
दुई अध्यक्षको प्रतिवेदन समेटेर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावलाई सचिवालय बैठकले अस्वीकार गरेको छ । दुवै प्रस्तावलाई एक बनाउन कार्यदल बनाउने प्रस्ताव रामबहादुर थापा बादलले राखेका थिए । त्यसलाई समर्थन गर्दै ओलीले वामदेव गौतमलाई संयोजक बन्न पनि प्रस्ताव गरेका थिए । महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले पनि यो प्रस्तावलाई समर्थन गरेका थिए । तर, सचिवालयका अरू सदस्यसहित स्वयं गौतमले पनि यो प्रस्तावलाई अस्वीकार गरे । गौतमले अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजानुपर्ने र त्यहीँबाट निर्णय गर्नुपर्ने अडान राखेपछि ओलीको प्रस्ताव अस्वीकृत भयो । उनले आफूसमेतको समर्थनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन ल्याएको स्पष्ट पारेका थिए ।
प्रकाशित मिति २०७७ मङ्सिर २१ गते आईतबार ०१:०७