सतिश रेग्मी
असार १२, २०७८
कक्षा १० अन्त्यमा लिइने एसईई परीक्षापछि धेरै बिद्यार्थीहरु ब्रिज कोर्षको पर्खामा रहेका हुन्छन्। कक्षा ११ मा भर्ना हुँदा लिइने मुख्य विषयलाई सहयोग पुग्ने र सिमित कोटा भएको ठाउँमा भर्ना हुनुपरेमा प्रतिस्पर्धाको आधारमा मात्र कोटा पाइन्छ। यस्तो अवस्थामा पहिले नै सम्बन्धित बिषयको बारेमा अध्ययन गर्ने काम नै ब्रिज कोर्ष हो।
पर्वतमा ब्रिज कोर्ष सञ्चालन गर्नको लागि सरकारी तथा नीजि संस्थाहरु नहुँदा तथा भएकाहरुले पनि क्षमता बिस्तार नगर्दा पर्वतबाट पोखरा वा अन्य सुबिधाजनक ठाउँमा प्रचलन छ। नीजि संस्थाले समेत यो तयारीका विशेष कक्षाहरु सञ्चालन गर्न कठिन हुने अवस्थामा पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको नमूना विद्यालयको रुपमा छनोट भएको नारायण माध्यामिक विद्यालयले भने ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ। अहिले आफ्नै विद्यालयबाट सहभागी भएका तथा ब्रिज कोर्ष गर्न चहाने अन्य बिद्यालयका विद्यार्थीहरुलाई समेत शिक्षण गर्न सक्ने गरी यस वर्षबाट ब्रिज कोर्षका कक्षाहरु सुरु गर्न लागिएको बिद्यालयका प्राधानाध्यापक गोविन्द प्रसाद पोखरेलले बताए।
‘दक्ष जनशक्ति नभएको अवस्थामा ब्रिज कोर्षका कक्षाहरु सञ्चालन गर्न सकिँदैन्। पर्वतमा ब्रिज कोर्षका कक्षाहरु चलेको मैले खासै पाएको छैन्। तर ब्रिज कोर्षका लागि बिद्यार्थीहरु भौतारिएको त हामीले देखेका नै छौँ’ उनले भने, ‘हामीले दक्ष जनशक्तिबाट ब्रिज कोर्ष सञ्चालनको तयारी गरिरहेका छौँ। यसले बिद्यार्थीलाई थप प्रतिस्पर्धी बनाउने छ। सिमित कोटामा प्रतिस्पर्धा गर्नका लागि उनीहरुलाई अब्बल बनाउने छ।’
कुनै प्रतिस्पर्धामा जानु बाहेक बिद्यार्थीको ज्ञान तथा सीपको विकासको लागि पनि ब्रिज कोर्ष राम्रो हुने शिक्षकहरु बताउँछन्।
ब्रिज कोर्ष गर्न चहाने विद्यार्थीहरुले बिद्यालयमा सम्पर्क राख्न सक्ने वा विद्यालयको मोबाईल नं. ९८५७६२३१४६ मा सम्पर्क गर्न सक्ने विद्यालय प्रशासनले जनाएको छ। ब्रिज कोर्षका कक्षाहरु यही असार १३ गतेबाट सुरु गर्न लागिएको हो।
प्रकाशित मिति २०७८ असार १२ गते शनिवार ०१:५८