पर्वतको जिल्ला बाल सञ्जाल गठन सहित अभिमुखीकरण कार्यक्रम सुरु

पर्वतको जिल्ला बाल सञ्जाल गठन सहित अभिमुखीकरण कार्यक्रम सुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ २९ गते मङ्गलबार ०७:५७

 सामाजिक विकास कार्यालय पर्वत आयोजनामा जिल्ला बाल सञ्जाल पुनर्गठन सहित जिल्ला बाल सञ्जालका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा नेपालको संविधानमा बाल अधिकारका सम्बन्धमा रहेका प्रावधानहरू...

 सामाजिक विकास कार्यालय पर्वत आयोजनामा जिल्ला बाल सञ्जाल पुनर्गठन सहित जिल्ला बाल सञ्जालका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा नेपालको संविधानमा बाल अधिकारका सम्बन्धमा रहेका प्रावधानहरू सहित बालबालिकाका विभिन्न पक्षहरूको बारेमा जानकारी दिइएको छ । सोमबार र मङ्गलवार गरी दुई दिन सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम जिल्ला बाल सञ्जाल पर्वतका पूर्व अध्यक्ष सृष्टि पौडेलको अध्यक्षतामा सुरु भएको हो ।
कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहमा रहेका  पालिका स्तरीय बाल क्लबबाट दुई जना बालिकाहरू सहित पाँच जना प्रतिनिधि र सामाजिक विकास महाशाखा÷शाखामा कार्यरत एक जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले बालमैत्री स्थानीय शासन अवलम्बन गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले बालबालिकाहरूको क्षेत्रमा विभिन्न अभियानलाई निरन्तर रूपमा सञ्चालन गर्न सरोकारवाला  सबैलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा बाल क्लबका निर्वाचन मण्डलका अध्यक्ष तथा सामाजिक विकास कार्यालय पर्वत प्रमुख टंक प्रसाद ढकाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय अध्यक्ष तथा अभिमुखीकरण कार्यक्रमका सहजकर्ता राजेन्द्र पहाडी शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले जिल्ला बाल सञ्जालका लागि १२ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ ।
बिहादी गाउँपालिकाकी निर्जला खनालको अध्यक्षतामा निर्माण भएको सञ्जालको उपाध्यक्षमा जलजला गाउँपालिकाकी सोपिया बि.क., सचिवमा मोदी गाउँपालिकाबाट रितिका सापकोटा, कोषाध्यक्षमा कुश्मा नगरपालिकाबाट अनिशा क्षेत्री, सहसचिवमा महाशिला गाउँपालिकाबाट सरस्वती परियार चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा कुश्मा नगरपालिकाबाट सन्तोष पौडेल, फलेवास नगरपालिकाबाट सृजना खनाल, बिहादी गाउँपालिकाबाट अमृता थापा, पैयुँ गाउँपालिकाबाट रिता भुर्तेल, महाशिला गाउँपालिकाबाट वसन्त मल्ल, जलजला गाउँपालिकाबाट दिप्सन नेपाली र मोदी गाउँपालिकाबाट सविना पौडेल रहनुभएको छ ।
प्रकाशित मिति २०८१ जेठ २९ गते मङ्गलबार ०७:५७
प्रतिक्रिया दिनुहोस