गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सम्मेलन आगामी अक्टोबर तेस्रो साता काठमाडौंमा हुँदैछ। सम्मेलनले आगामी २ वर्षका लागि नेतृत्व चयन गर्दैछ। हाल एनआरएनए उपाध्यक्ष रहेका पर्वतका कुल आचार्य यसपटक अध्यक्षका प्रत्यासी हुन्।
संघर्ष, निरन्तर मिहनत र अविचलित समर्पणले बेलायतमा सफल व्यवसायी बन्न सफल आचार्य यतिखेर विश्वव्यापी चुनावी दौडाहामा छन्। जापान, अमेरिका, क्यानडा, माल्टा, आयरल्याण्ड, साइप्रस, साउदी अरब, कतार, मलेसिया, नेदरल्यान्ड, पोल्यान्ड, बेल्जियम, नर्वे, डेनमार्क, फ्रान्स, अस्ट्रेलिया लगायतका कयौं देशमा पुगेर एनआरएनएका अभियन्तालाई भेटेर अहिले बेलायत पुगेका छन् आचार्य।
‘साना–ठूला सबै देशमा रहनु भएका नेपालीका समस्या र मुद्दा साझा हुन्छन्, विश्वव्यापी भ्रमणमा मैले त्यस्ता सबै मुद्दामा बहस गर्दै र समाधानमा सामूहिक प्रयासका विषयमा छलफल गर्दै आएको छु,’ उनले भने।
‘विश्वभरिका नेपालीलाई एकताको सूत्रमा बाँध्नुछ, मुलुकको समृद्धि र विकासको एजेन्डालाई सहयोग पुर्याउने दायित्व पनि छ,’ आचार्यले भने, ‘त्यसैले एनआरएनलाई नवीन सोच दिन सक्ने नेतृत्व आवश्यक परेको हो।’
पर्वतको धाइरिङका आचार्य आफ्नै कर्मले चम्किएका हुन्। सभ्रान्त पृष्ठभूमि तथा राजनीतिक सक्रियताले होइन, आफ्नै पौरखले गैरआवासीय समुदायमा लोकप्रिय भएका हुन्।
सरल स्वभाव, सहयोगी भावना र परिश्रमी सोचले उनी गैरआवासीय समुदायबीच स्थापित छन्। गैरआवासीय नेपालीका हरेक समस्यामा उनी साथी हुने गरेका छन्। जहाँ–जहाँ नेपालीलाई समस्या हुन्छ, त्यहाँको कुलको सम्झना हुन्छ, अनि त्यहाँ पुग्छन्, उनी।
‘अहिलेको अवस्थामा आइपुग्न मैले लामो संघर्ष गरेको छु, अहिले पनि मेरो संघर्ष जारी छ,’ आचार्यले भने, ‘म परिश्रम र पौरखले स्थापित भएको हुँ।’
संघर्षलाई उनी प्रेरणा मान्छन्। सफलताबाट हौसिँदैनन्, बरु जिम्मेवारी बढेको ठान्छन्। जिम्मेवारी पूरा गर्ने र संघर्षबाट अघि बढ्ने संकल्प र अठोट अनि आत्मविश्वासले नै आचार्यलाई एउटा किसान परिवारको सदस्यबाट बेलायतको सफल र स्थापित व्यवसायी बनायो।
‘संघर्षले मानिसलाई सतिसाल जस्तै बनाउँदो रहेछ, समयसँगै सफलता हात लाग्दो रहेछ,’ उनी भन्छन्।
एनआरएनएको नेतृत्वमा किन?
गैरआवासीय नेपाली संघको सञ्जाल विश्वका ८१ देशमा फैलिएको छ। यसलाई सही ढंगले सञ्चालन र परिचालन गर्न गैरआवासीय नेपाली संघमा नवीनतम् सोच बोकेको व्यक्तिले नेतृत्व गर्नुपर्ने आचार्यको धारणा छ।
‘विश्वका धेरै देशमा रहनु भएका नेपालीका हरेक समस्यालाई समाधान गर्दै उहाँहरूले आर्जन गरेको पूँजीलाई नेपालमा लगानी गर्न सक्ने वातावरण निर्माण गर्न विस्तृत कार्ययोजना बनाएको छु,’ आचार्यले भने, ‘त्यसको कार्यान्वयनका लागि अब नेतृत्व गर्नुपर्छ भन्ने लक्ष्य राखेको हुँ।’

आचार्यले विभिन्न देशमा रहेका छुट्टाछुट्टै मुद्दाको अध्ययन गरी तिनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा उठान गर्ने लक्ष्य लिएर काम गर्दै आएको बताए।
‘खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीका अनेक मुद्दा छन्, अमेरिका, अस्ट्रेलिया र युरोपमा गैरआवासीय नेपाली नागरिकताको मुद्दा र सम्पत्तिको अधिकारका सवालमा चासो व्यक्त भइरहेको छ,’ आचार्यले नेपालन्युजसँग भने, ‘त्यसैले सबै क्षेत्रका नेपालीका साझा मुद्दा बोकेर एनआरएनएलाई अघि बढाउनु छ, ती मुद्दा कार्यान्वयन गर्न म सक्षम छु।’
आचार्यका एजेन्डा
‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने एनआरएनएको एजेन्डालाई मूलमन्त्र मानेर आफू हिँडिरहेको बताउँदै आचार्यले नागरिकताको विषयलाई मुख्य रुपमा उठान गरिरहेको उल्लेख गरे।
‘गैरआवासीय नेपाली नागरिकता र राहदानीको विषयलाई मुख्य रुपमा उठाइरहेका छौं,’ आचार्यले भने, ‘गैरआवासीय नेपालीले स्वदेशमा रहेको सम्पत्ति अन्य नेपाली नागरिकले सरह उपभोगको अधिकार पाए ठूलो आर्थिक स्रोत जोगिन्छ, कानुनी रुपमै यसको व्यवस्था गर्नुपर्छ।’
गैरआवासीय नेपाली नागरिकता लिने विषयमा रहेको द्विविधा अन्त्य गरी सहजै नागरिकता र राहदानी उपलब्ध हुने व्यवस्थाको सुनिश्चितताका लागि लामो समयदेखि आफूले आवाज उठाउँदै आएको आचार्यले बताए।
साथै नेपाली भाषा जानेकालाई मात्रै नागरिकता दिने प्रावधान पनि सच्याउन पर्ने विषयलाई उनले उठान गरिरहेका छन्।
‘दोहोरो श्रम स्वीकृतिको झमेला रहेको साइप्रस, मध्यपूर्वका देशमा वैदेशिक रोजगारी व्यवस्थित गर्ने विषय पनि हामीले समेट्नुपर्छ,’ उनले भने, ‘विदेशिक रोजगारीमा गएका नेपालीका लागि स्थापित कल्याण कोष विस्तार गरी उनीहरूका हितमा प्रयोग गर्नु पर्नेछ।’
नेपालमा लगानी भित्र्याउने सन्दर्भमा
आचार्यका अनुसार गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा सामूहिक लगानीको अवधारणा ल्याइएको हो।
‘म एनसिसी बेलायतको अध्यक्ष थिएँ, संस्थापक अध्यक्ष उपेन्द्र महतो र तत्कालीन अध्यक्ष जीवा लामिछाने लण्डन आउनुभएको थियो, त्यतिबेला १० लाख पाउण्ड अर्थात् १४ करोड रुपैयाँ बेलायतबाट जुटेको थियो,’ उनले भने, ‘अब त्यति बेला सुरु भएको लगानी जुटाउने सवाललाई नयाँ कार्यसमितिले अझ तीव्रताका साथ अघि बढाउने छ।’
आचार्यले सामूहिक लगानी प्रोत्साहन गर्ने तथा लगानीकर्तालाई प्रतिफल दिर्ने आधार तयार गर्दै मुलुकको समृद्धि र विकासमा योगदान दिन एनआरएनएले योजनाबद्ध कार्यक्रम ल्याउने बताए।
‘गोर्खा जिल्लाको लाप्राकलाई पुनर्निर्माण गर्ने तथा उपत्यकामा शंखमुल पार्क निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘यस्ता धेरै काम गर्ने दायित्व अबको नेतृत्वलाई आउने छ, त्यसलाई पूरा गर्ने दृढताका साथ अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको हुँ।’
गैरआवासीय नेपाली संघमा सक्रियता
सन् २००३ देखि गैरआवासीय नेपाली संघमा आबद्ध भएका आचार्य सन् २००७ देखि निरन्तर सक्रिय छन्।
‘गैरआवासीय नेपालीप्रति हाम्रो जिम्मेवारी छ, त्यही जिम्मेवारी पूरा गर्न नै म संगठनमा सक्रिय रहँदै आएको हुँ,’ उनले भने।
गैरआवासीय नेपाली संघ बेलायतको सदस्य रहेर संगठनमा प्रवेश गरेका आचार्यले पछि सोही कमिटीको नेतृत्व गरे। सक्रियता बढ्दै जाँदा युरोप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।
‘नागरिकताको सवाल, गोर्खा तथा अन्य विविध विषयलाई सम्बोधन गर्नुछ,’ आचार्यले भने, ‘अब एनआरएनएको नेतृत्व गर्दै ती योजनाहरुलाई कार्यान्वयनतर्फ लाने छु।’
गैरआवासीय नेपाली संघका ६ वटा निर्वाचनमध्ये तीन निर्वाचनमा सर्वसम्मत तथा तीन निर्वाचनमा लोकप्रिय मतसहित विजय हासिल गरेका थिए आचार्यले। जीवनका अनेक अग्निपरीक्षा सफल आचार्य यतिखेर अर्को अग्निपरीक्षाको संघारमा छन्।
धाइरिङबाट बेलायतसम्म
पर्वतको धाइरिङ, पञ्चायतकालमै शिक्षा र सामाजिक जागरणका लागि लडेको गाउँ। त्यहाँ जन्मिएका आचार्यको बेलायतसम्मको यात्रा संघर्षपूर्ण र प्रेरणादायी छ। करिब दुई दशक हुन लाग्यो उनले बेलायतलाई आफ्नो कर्मभूमि बनाएको।
आचार्यले कृष्ण भवन स्कुलबाट कक्षा ७ सम्म अध्ययन गरे। माझफाँट माविबाट एसएलसी पास गरेका आचार्यले प्रविणता तह (आइए) बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढे।
२०५६ मा गाउँमै केही गर्ने सोच हुँदा पनि उनी थातथलो छाड्न बाध्य भए। ‘केही साथीहरूलाई विदेश पठाउनका लागि काठमाडौं आएको थिएँ, तर साथीहरूले विदेश जाउँ भनेर हौस्याए,’ आचार्यले भने, ‘त्यसपछि विदेश जाने सुरसार कसियो।’
काठमाडौंमा बस्दा साथीहरूबाट पाएको सुझावले आचार्यले पनि विदेश जाने निर्णय गरे। अनि पहिले गन्तव्य बनाए, युरोपेली मुलुक बेल्जियम।
‘गाउँमा सबैलाई साथ–सहयोग गर्दै अघि बढ्दै थिएँ, अचानकै विदेश जाने संयोग जुर्यो,’ आचार्य भन्छन्, ‘कर्म गर्न जहाँ गए पनि मातृभूतिप्रतिको अथाह श्रद्धाले बेला–बेला झक्झक्याइ रह्यो, जन्मथलोको माया छातीभरि राखेर कर्मकथाहरू लेख्दै गएँ र नै अहिले यतिका साथी कमाएको हुँ।’
बेल्जियम आचार्यका लागि ‘ट्राञ्जिट’ मात्रै भयो। उनी त्यहाँ धेरै बसेनन्, लागे जर्मनीतिर। तर, भाषाको ज्ञान नहुँदा त्यहाँ पनि निकै कठिन दैनिकी उनले झेल्नुपर्यो। दुई वर्षको जर्मनीको सकसपूर्ण बसाइपछि उनी सिधै बेलायत हानिए।
‘बेलायत पुगेपछि गाउँकै दाइहरूले सुपरमार्केटमा काम खोजिदिनु भयो, राहत भयो मलाई, एक हप्तामा दुई सय ५० पाउण्ड तलब आउने भयो,’ आचार्यले भने, ‘तर त्यहाँ पनि मैले धेरै समय काम गरिनँ, मेरो लक्ष्य सेफ बन्ने थियो।’
बेलायत पुगेपछि सुरुमा रची नामको रेस्टुरामा ८० पाउण्डमा काम गर्न थाले। त्यसमा उनको एउटै लक्ष्य थियो– किचनमा पनि सहयोग गर्ने र सेफ बन्ने।
आचार्यका अनुसार रचीमा तीन महिना काम गरेपछि उनी बम्बई बाइसाइकल क्लब नामको अर्को रेस्टुरा गए। त्यहाँ किचन हेल्परको जिम्मेवारी पाए।
‘सियो बनेर पस्नु फाली भएर निस्किनु’ भन्ने नेपाली उखानझैँ बम्बई बाइसाइकलको ६ वर्षे करिअर उनको जीवनको नयाँ सफलता बनिदियो। किचन हेल्परबाट हेड सेफ बन्न सफल भए।
‘जतिसम्म गर्नु थियो, कुनै कसर बाँकी नराखी गरेँ,’ उनले भने, ‘त्यसैको प्रतिफल अहिले बेलायतमा धेरै साथीहरू कमाएको छु, विश्वभरिका गैरआवासीय नेपाली साथीहरूको माया पाएको छु, धनसम्पत्ती मात्रै सबै कुरा होइन।’
बेलायत बसाइको दुई दशकमा आचार्य सफल रेस्टुरेन्ट व्यवसायी भए। बेलायतमा रहेका मात्रै होइन, जुनसुकै ठाउँबाट त्यहाँ पुग्ने नेपाली ‘होली काउ’ रेष्टुरामा पुग्ने गर्छन्। त्यही होली काऊका प्रबन्ध निर्देशक हुन् आचार्य।
हेल्परबाट सुरुआत, भए मालिक
६ वर्षसम्मको अनुभव, लगन र परिश्रमले बेलायतको समाजमा आचार्यको ख्याती बढिरहेको थियो। त्यसबीचमा ‘इभिनिङ स्ट्याण्डर्ड’ पत्रिकाले आचार्यको कर्मकथा छाप्यो, जुन उनका लागि काममा थप उत्साहित भएर लाग्न प्रेरित गर्ने माध्यम थियो।
‘यो सबै मैले गरेको मेहनतबाटै सम्भव भएको हो,’ उनले भने, ‘मैले चार तहमा समय व्यवस्थापन गरेर काम गरेकैले अहिले व्यावसायिक उन्नति मिल्यो।’
६ वर्ष काम गरेको अनुभव। किचन हेल्परबाट हेडसेफ। अब सफलताको कथा लेख्न एउटा खुट्किलो मात्रै बाँकी थियो कुल आचार्यका लागि।
सन् २००६ उनले जीवनमा नवीन उर्जा र लक्ष्य पूरा गर्ने वर्ष बनिदियो। सोही वर्ष उनले रेस्टुरेन्ट सञ्चालनमा ल्याए। आचार्यले अफगानस्तानका एक व्यवसायीसँग साझेदारी गरेर होली काऊ रेस्टुरेन्ट सुरुआत गरे। आफै मालिक भएको चार वर्षपछि होली काऊ रेस्टुरेन्टका सात वटा शाखा विस्तार गरे।
‘होली काऊको आफ्नै फुड र डेलिभरी सेवा छ, डेलिभरी नामक प्लेटफर्म कम्पनीबाट होली काऊका परिकार ग्राहकसम्म पुर्याउने गरिन्छ,’ उनले थप प्रष्ट पारे।
सन् २०१३ मा बेलायती सांसदहरू रहेको टिफिन क्लबले प्रदान गर्ने अवार्डबाट सम्मानित भइसकेको होली काऊलाई युरोपभरि बिस्तार गर्ने लक्ष्य उनले राखेका छन्।
प्रकाशित मिति २०७६ असोज ८ गते बुधबार ०२:५४