पर्वत : पर्वतको कुश्मा नगरपालिका कक्षा ८ को अन्त्यमा नगर स्तरमा संचालन गर्ने आधारभूत तह उत्तिर्ण परीक्षा आउँदो चैत १० गतेबाट संचालन गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा अन्तर्गत परीक्षा संचालक समितिको बैठकले परीक्षा तालिका सहित परीक्षा संचालनको मिति तय गरेको हो ।
नगर शिक्षा प्रमुख बिष्णु प्रसाद तिवारीका अनुसार चैत १० गते अंग्रेजी, ११ गते नेपाली, १२ गते विज्ञान, १३ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, १४ गते पेशा, व्यवसाय तथा प्रबिधि शिक्षा, १६ गते गणित, १७ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षा र १८ गते कम्प्युटर बिषयको परीक्षा हुने भएको छ । विद्यालयहरुले अतिरिक्त रुपमा अध्यापन गराउँदै आएका अन्य बिषयहरुको परीक्षा विद्यालय आपैmले त्यसपछिका दिनमा संचालन गरिने भएको छ ।
शिक्षा प्रमुख तिवारीका अनुसार नगरपालिकाभर रहेका २० ओटा सामुदायिक र ८ ओटा संस्थागत विद्यालयका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिाका नगरपालिकाको शिक्षा शाखाले नै विद्यालयहरुलाई उपलब्ध गराउने भएको छ ।
यसैगरी, यस बर्षको परीक्षाबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले अनिवार्य रुपमा परीक्षा आवेदन फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने भएको छ भने शिक्षा शाखाले प्रत्येक विद्यार्थीहरुको लागि अनिवार्य रुपमा प्रवेश पत्रको व्यवस्था गरेर विद्यालयमा पठाउने भएको छ । उक्त आवेदन फारामहरु फागुनको २५ गते भित्रमा नगर शिक्षा शाखामा पेश गर्नुपर्ने र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको अन्तिम विवरण फागुन ५ गतेभित्रमा बुझाउन निर्देशन गरिएको छ । कुश्मा नगरपालिकामा रहेको २८ ओटा आधारभूत तह संचालन गरिरहेका विद्यालयहरुबाट झण्डै एक हजार विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदैछन् ।
प्रकाशित मिति २०७६ माघ २९ गते बुधबार ०६:४२