कफीको लत छ ? जानी राखौं यी कुराहरू

कफीको लत छ ? जानी राखौं यी कुराहरू

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ चैत १८ गते बुधबार ०७:००

कफीको इतिहास करिब १०औं शताब्दीदेखि सुरु भएको हो र यसको उत्पत्ति अफ्रिकाको इथियोपियामा भएको विश्वास गरिन्छ । वैज्ञानिक अध्ययनहरूले दैनिक ३ देखि ५ कप कफी सेवनले मुटु रोग, मधुमेह र केही क्यान्सरको जोखिम कम गर्न सक्ने देखाएका छन्...

  • कफीको इतिहास करिब १०औं शताब्दीदेखि सुरु भएको हो र यसको उत्पत्ति अफ्रिकाको इथियोपियामा भएको विश्वास गरिन्छ ।
  • वैज्ञानिक अध्ययनहरूले दैनिक ३ देखि ५ कप कफी सेवनले मुटु रोग, मधुमेह र केही क्यान्सरको जोखिम कम गर्न सक्ने देखाएका छन् ।
  • अत्यधिक कफी सेवनले निद्रा समस्या, बेचैनी, उच्च रक्तचाप र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

कफीको इतिहास करिब १० औं शताब्दीदेखि सुरु भएको हो। अफ्रिकाको इथियोपियामा यसको उत्पत्ति भएको विश्वास गरिन्छ, जहाँ स्थानीय जनजातिहरूले कफीका बोटका फलहरूलाई चाख्न थालेका थिए । त्यसपछि यो पेय पदार्थ मध्यपूर्व हुँदै युरोप र विश्वका अन्य भागहरूमा पनि फैलिँयो । १६औं शताब्दीमा युरोपेलीहरूले कफीलाई नयाँ पेय पदार्थको रूपमा चिने र यसको प्रभावबारे अनुसन्धान गर्न थाले ।

प्रारम्भमा कफीलाई स्वास्थ्यका लागि हानिकारक मानिन्थ्यो भने पछि यसले थुप्रै रोगहरूबाट बचाउने सम्भावना देखिएपछि यसको लोकप्रियता बढ्दै गयो । आज कफी विश्वभर सबैभन्दा बढी सेवन गरिने पेय पदार्थहरूमध्ये एक हो । दैनिक करोडौं मानिसहरूले आफ्नो दिनको सुरुवात कफीसँगै गर्छन् ।

नेपालमा पनि कफीको सेवन दिनानुदिन बढ्दै छ । नेपालमा पहिले कफी (ब्ल्याक वा मिल्क) मात्र भनेर चिनिन्थ्यो भने आजकाल अमेरिकानो, एस्प्रेसो, क्यापुचिनो, लाटे लगायतका विभिन्न कफी भेराइटीसँग उपभोक्ताहरू राम्रोसँग परिचित भइसकेका छन् । पछिल्ला वर्षहरूमा नेपालमा कफी संस्कृतिको विकास तीव्र रूपमा बढ्दै गएको छ र कफीका गुणस्तरीय उत्पादन तथा कफी व्यवसाय दुवैले उल्लेखनीय प्रगति गरेको देखिन्छ ।

कफीमा मुख्य रूपमा क्याफिन, क्लोरोजेनिक एसिड, डाइटरपेनोइड अल्कोहलजस्ता जैविक यौगिकहरू पाइन्छन् जसले शरीरमा विभिन्न प्रभाव पार्छन् । विशेषत कफी क्याफिनको लागी प्रख्यात छ ।

क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गरेर मानसिक सतर्कता बढाउँछ भने क्लोरोजेनिक एसिड एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ जसले शरीरमा कोशिकाहरूलाई क्षति हुनबाट बचाउँछ । यद्यपि, केही वैज्ञानिक अध्ययनहरूमा देखिएअनुसार डाइटरपेनोइड अल्कोहलहरूले केही अवस्थामा रक्तमा कोलेस्टेरोलर होमोसिस्टीन स्तर बढाउन सक्छन् जसले मुटु रोगको जोखिम बढाउन सक्छ ।

स्वास्थ्य लाभहरू

धेरै वैज्ञानिक अध्ययनहरूले मध्यम मात्रामा कफी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। दैनिक ३ देखि ५ कपसम्मको कफी सेवनले मुटु रोग, मधुमेह, स्ट्रोक, केही प्रकारका क्यान्सर (जस्तै कलेजो र गर्भाशयको क्यान्सर) र मस्तिष्क सम्बन्धी रोगहरूको जोखिम कम गर्न सक्छ । यसले ग्लुकोज सन्तुलन सुधार्ने, फ्याट अक्सिडेसन बढाउने, फोक्सोको कार्यक्षमता सुधार्ने र सुन्निएको कम गर्ने काम गर्छ।

वैज्ञानिक अध्यनहरूले देखाए अनुसार व्यायाम गर्ने ३०-६० मिनेटअघि शरीर तौल अनुसार ३-६ मि.ग्रा. प्रति के.जी क्याफिन (झण्डै एक कप बलियो कफी बराबर) सेवन गर्दा, विशेषगरी कमदेखि मध्यम तीव्रताका गतिविधिमा शरीरले बोसो पगाल्ने (फ्याट अक्सिडेसन) क्षमता उल्लेख्य रूपमा बढाउने देखिन्छ ।

क्याफिनले स्नायु प्रणालीलाई सक्रिय बनाउँदै मेटाबोलिक रेट र लिपोलाइसिस (बोसो छुट्टिने प्रक्रिया) बढाउँछ, जसका कारण व्यायामअघि क्याफिन सेवन गर्दा बोसो जल्ने (बर्न हुने) प्रक्रिया १० प्रतिशत भन्दा बढीले बढ्न सक्ने देखिन्छ । साथै, मानसिक सतर्कता बढाउने, स्मरणशक्ति सुधार्ने र शारीरिक प्रदर्शनलाई पनि सुदृढ बनाउने भूमिका खेल्ने देखिन्छ ।

कफीमा पाइने क्लोरोजेनिक एसिड, पोलिफेनोल, डाइटरपिन (क्याफेस्टोल र काह्वेओल), ट्रिगोनेलिन, मेलानोइडिन तथा पोटासियम- म्याग्नेसियम जस्ता जैविक-सक्रिय तत्वहरूले शरीरमा धेरै सकारात्मक प्रभाव पार्छन् ।

यी तत्वहरूले शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गरेर कोषिकालाई क्षतिबाट जोगाउँछन् । इन्सुलिन संवेदनशीलता सुधार गरेर टाइप-२ मधुमेहको जोखिम कम गर्छन् र दीर्घसूजन (क्रोनिक इन्फ्लामेसन) घटाइ हृदय-स्वास्थ्यमा सहयोग गर्छन् ।

यो पनि पढ्नुहोस

कफी किन पिउने ? नियमित कफी पिउनुका यस्ता फाइदा

 

डाइटरपिनहरूले विशेषगरी कलेजो तथा प्रोस्टेट क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने देखिएको छ । जबकि ट्रिगोनेलिनले स्मरणशक्ति तथा स्नायु-स्वास्थ्य (न्युरो प्रोटेक्सन) सुधार गर्न भूमिका खेल्छ । कफी भुट्दा बन्ने मेलानोइडिनले एन्टिअक्सिडेन्ट तथा प्रिबायोटिकको असर प्रदान गर्छन्, जसले पाचन-तन्त्रलाई सहयोग गर्दछ ।

साथै, पोटासियम र म्याग्नेसियमले इलेक्ट्रोलाइट सन्तुलन र मेटाबोलिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन् । समग्रमा, नियमित मात्रामा कफी सेवनले कलेजोको स्वास्थ्य सुधार्ने, हृदयघात तथा स्ट्रोकको जोखिम घटाउने र शरीरमा डीएनए क्षतिलाई कम गर्ने वैज्ञानिक प्रमाणहरू उपलब्ध छन् ।

अत्यधिक सेवनका नकारात्मक प्रभावहरू

तर अत्यधिक वा अनियन्त्रित रूपमा कफी सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असरहरू देखिन सक्छन् । धेरैजसो व्यक्तिहरूमा अत्यधिक क्याफिनले निद्रा समस्या, बेचैनी, हृदयको धड्कन बढ्नु, उच्च रक्तचाप र तनावजस्ता लक्षण उत्पन्न गर्न सक्छ । गर्भवती महिलाहरूले दैनिक २०० मिलिग्राम भन्दा बढी क्याफिन सेवन नगर्न सल्लाह दिइन्छ किनभने यसले गर्भपतन, समयभन्दा पहिले जन्म वा कम तौल भएका बच्चा जन्माउने जोखिम बढाउन सक्छ । साथै , महिलाहरूमा अत्यधिक कफी सेवनले हड्डी भाँचिने जोखिम पनि केही हदसम्म बढाउन सक्छ भन्ने समेत अध्ययनहरूले देखाएका छन् ।

मानसिक स्वास्थ्य र कफीको लत

कफीमा रहेको क्याफिन मानसिक सतर्कता तथा ऊर्जा बढाउने प्राकृतिक उत्तेजक भए पनि यसको अत्यधिक सेवनले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । निरन्तर उच्च मात्रा सेवन गर्ने विद्यार्थी, कार्यालयको कर्मचारी वा राति काम गर्ने व्यक्तिहरूमा तनाव, चिन्ता, चिडचिडापन तथा कहिलेकाहीँ निद्रा नलाग्ने समस्या (इन्सोम्निया) बढ्न सक्छ, जसले उनीहरूको अध्ययन क्षमता, कार्यक्षमता र निर्णय क्षमतामा सीधा प्रभाव पार्छ ।

अत्यधिक क्याफिनले स्नायु प्रणालीको अत्यधिक उत्तेजना (ओवर-स्टिमुलेसन) गराउँछ, जसका कारण मुटुको धड्कन बढ्ने, आत्त्तिने, ध्यान केन्द्रित गर्न कठिनाइ तथा दीर्घकालीन अवस्थामा डिप्रेसनका प्रारम्भिक लक्षणसमेत देखिन सक्ने अध्ययनहरूले संकेत गरेका छन् ।

यो पनि पढ्नुहोस

अध्ययनको निष्कर्ष : कफी धेरै पिउनाले निर्णय क्षमता कमजोर बन्छ

 

क्याफिन एक प्रकारको हल्का नशालु तत्व भएकाले लामो समय बढी मात्रामा सेवन गरेपछि शरीरले यसको सहनशीलता (टोलरेन्स) विकास गर्छ जसले गर्दा मानिसलाई पहिले भन्दा बढी कफी चाहिने बनाउँछ । यदि कफी अचानक छोडियो भने विथड्रल लक्षणहरू देखिन सक्छन् । जसमा टाउको दुखाइ, अत्यधिक थकान, झर्कोपन, ध्यान नलाग्ने, मूड स्विङ, तथा कहिलेकाहीँ हल्का डिप्रेसन जस्ता लक्षण प्रमुख रूपमा देखिन्छन् । यी सबै लक्षणहरू कफीमा निर्भरता ( क्याफिन डिपेन्डेन्स) को संकेत मानिन्छन् ।

यद्यपि मध्यम मात्रामा कफी सेवन धेरैका लागि सुरक्षित मानिन्छ, मानसिक स्वास्थ्यको हिसाबले सबैको शरीरले क्याफिनलाई समान रूपमा सहन गर्न सक्दैन । त्यसैले आफ्नो शरीरको व्यक्तिगत प्रतिक्रिया (इन्डीभिजुअल रेस्पोन्स) बुझ्नु, आवश्यक परे चिकित्सक वा परामर्शदाताको सल्लाह लिनु तथा कफी सेवनलाई सन्तुलित र जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुन्छ । स्वस्थ जीवनशैली, पर्याप्त पानी पिउने बानी, नियमित निद्रा र तनाव व्यवस्थापनले क्याफिन निर्भरता तथा मानसिक स्वास्थ्य सम्बन्धी जोखिमहरूलाई कम गर्न मद्दत पुर्‍याउँछन् ।

सन्तुलित सेवनका लागि सुझाव

स्वास्थ्य विशेषज्ञहरूले दैनिक २ देखि ४ कपसम्म मध्यम मात्रामा कफी सेवनलाई सुरक्षित मान्छन् जसले स्वास्थ्य लाभ पुर्‍याउन सक्छ । तर व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार यसको मात्रा समायोजन गर्नु आवश्यक हुन्छ । उच्च रक्तचाप भएका वा हृदयसम्बन्धि समस्या भएका व्यक्तिहरूलाई बढी मात्रामा क्याफिनयुक्त पेय पदार्थबाट बच्न सुझाव दिइन्छ । गुलियो वा क्रिम थपेर पिउँदा त्यसले हुने फाइदामा कमी आउन सक्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ ।

कफी एक स्वादिलो र ऊर्जा प्रदान गर्ने पेय पदार्थ हो । यसलाई सन्तुलित मात्रामा सेवन गर्दा विभिन्न स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ तर यसको लत लाग्नु, बिहानको दिन कफीबिना सुरु गर्न नसक्ने अवस्था विकसित हुनु वा अत्यधिक मात्रा सेवन गर्नुले शरीर र मानसिक स्वास्थ्य दुवैमा नकारात्मक असर पार्न सक्छ ।

त्यसैले कफी सेवन गर्दा आफ्नो शरीरको प्रतिक्रिया बुझ्नु, आवश्यक परे विशेषज्ञको सल्लाह लिनु र मात्रा नियन्त्रण गरेर मात्र सेवन गर्नु बुद्धिमानी हुन्छ, ताकि यसको फाइदा उठाउन सकियोस् र हानिबाट सुरक्षित रहन सकियोस् ।

यदि कफीप्रति निर्भरता वा लत विकसित भएको महसुस हुन्छ भने सेवनलाई बिस्तारै घटाउने प्रयास गर्ने र आवश्यक परे चिकित्सक वा परामर्शदातासँग सल्लाह लिनु उपयुक्त हुन्छ । यसले कफी उपभोगका सन्दर्भमा स्वस्थ जीवनशैली कायम राख्न र दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्य संरक्षण गर्न मद्दत पुग्छ ।

प्रकाशित मिति २०८२ चैत १८ गते बुधबार ०७:००
प्रतिक्रिया दिनुहोस