आउँदो फागुन १ गतेदेखि ११ गतेसम्म संचालन हुन लागेको १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको तयारी द्रुत गतिमा भइरहेको छ । महोत्सवलाई सफल पार्नको लागि बिभिन्न निकाय, संघसंस्था, आमा समूह, क्लब, विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट बिभिन्न सहयोगहरु भइरहेका छन् । यही सन्दर्भमा महोत्सवलाई सफल पार्नको लागि महोत्सवको आयोजना गर्न लागिएको जलजला गाउँपालिकाका जनप्रतिनिधि तथा नजिकै रहेको म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी तथा बुद्धिजीविहरुको भेला सम्पन्न भएको छ । जलजला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवेन्द्रबहादुर भण्डारीको अध्यक्षतामा भएको भेलामा वडाध्यक्षहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा सचिव, सर्वसाधारण तथा आयोजक रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँ र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
महोत्सवलाई सफल रुपमा सम्पन्न गर्ने उद्धेश्यका साथ जलजलाबासीहरुको सक्रियतामा भएको भेलबाट बिभिन्न निर्णयहरु गरिएका छन् । महोत्सव आयोजक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जकी अध्यक्ष कल्पना चापागाईँले दिनुभएको जानकारी अनुसार प्रचारप्रसार उपसमितिको संयोजन उद्योग वाणिज्य संघले गर्ने भएको छ भने त्यसमा बजार सुधार समिति, आमा समूह, नव उत्साही समूह र लायन्स क्लबका प्रतिनिधिहरु सदस्यको रुपमा रहने छन् ।
यस्तै, झाँकी तथा ¥याली व्यवस्थापनको काम बेनी बजारमा रहेका बिभिन्न समूह, संघसंस्था तथा क्लबका अध्यक्षहरुले गर्नुहुने भएको छ भने त्यसको संयोजन काmीगण्डकी आमा समूहले गर्ने भएको छ । यसैगरी, खेलकुद तथा अन्य प्रतियोगितामा सहभागी हुनेहरुको नाम दर्ता उपसमितिको संयोजन पिपलबोट यूवा क्लबले गर्ने, स्वयंसेवक संचालन उपसमितिको संयोजन रामबहादुर के.सी.ले गर्ने, अतिथि सत्कार उपसमिति तथा मेला व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग वाणिज्य संघका प्रतिनिधि रहने निर्णय भएको छ । यो उपसमितिमा समाजसेवी नरबहादुर कार्की सहित आमा समूह लगायतका सबै संघसंस्थाहरुका अध्यक्ष वा प्रतिनिधिहरु सदस्यको रुपमा रहनुहुने भएको छ ।
भेलाबाट सरसफाई उपसमिति पनि निर्माण गरिएको छ भने त्यसको संयोजन खानेपानी उपभोक्ता समितिले गर्ने तथा अन्य सदस्यहरुमा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु राख्ने निर्णय गरिएको छ । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि वडाध्यक्ष देवेन्द्रबहादुर भण्डारीको नेतृत्वमा सबै उपसमितिका संयोजकहरु तथा समाजसेवी नरबहादुर कार्की र चन्द्रबहादुर जि.सी. सदस्य रहने गरी अनुगमन उपसमितिको जिम्मेवारी दिइएको छ ।
महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली, भजन लगायतका प्रतियोगिताहरु आयोजना गरिँदै छ । झाँकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवका थप आकर्षण हुने छन् । १ सय १० औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ.एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरहरुलाई एकै ठाउँमा भेला गराउने तयारी समेत भइरहेको रेडियोले जनाएको छ । सदरमुकाम बाहिर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोको अध्यक्ष कल्पना चापागाईँले बताउनुभयो ।
प्रकाशित मिति २०७६ माघ १५ गते बुधबार १२:१४