पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको छ।कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।
नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए। पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए। कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो। सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन्।
प्रकाशित मिति २०७८ असार १ गते मङ्गलबार १०:४१