आलोचना विरोध होई
हिजो “बदलिएको कांग्रेस कि अलमलिएको कांग्रेस?” शीर्षकमा लेख प्रकाशित गरेपछि केही साथीहरूले पूरै नपढी केवल शीर्षकका आधारमा निष्कर्ष निकाल्नुभएको पाइयो। त्यसै सन्दर्भमा एउटा अंग्रेजी उखान सम्झना आयो— “Don’t judge a book by its cover.”
विचारको मूल्य शीर्षकमा होइन, त्यसको सारमा हुन्छ।
नेपाली कांग्रेस फेरि एकपटक गम्भीर आत्ममन्थनको मोडमा उभिएको छ। “बदलिएको कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित जनतामाझ गएको पार्टीले अपेक्षाअनुसारको परिणाम ल्याउन नसक्दा स्वाभाविक रूपमा प्रश्न उठेको छ— के साँच्चै कांग्रेस बदलिएको हो, कि केवल नारा मात्र बदलिएको हो?
हालैका घटनाक्रमले देखाउँछन् कि पार्टीभित्र विचारभन्दा व्यक्तिवाद बलियो हुँदै गएको छ। सभापति गगन थापा ले “कांग्रेस दास र लासको पार्टी होइन” भन्ने अभिव्यक्ति दिनु सकारात्मक संकेत जस्तो देखिए पनि व्यवहारमा त्यसको प्रतिफल कति देखियो भन्ने प्रश्न अझै अनुत्तरित छ। आलोचना सुन्ने संस्कार कमजोर हुनु र प्रश्न उठाउनेहरूलाई किनारा लगाउने प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्रलाई नै कमजोर बनाएको देखिन्छ।
इतिहास साक्षी छ— बी.पी. कोइराला ले स्थापना गरेको कांग्रेस विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित थियो। तर आजको कांग्रेसमा ती आधारहरू क्रमशः कमजोर बन्दै गएको आभास हुन्छ। अझ कृष्ण प्रसाद भट्टराई जस्ता संस्थापक नेताले जीवनको उत्तरार्धमा पार्टीसँग असहज महसुस गर्नुपरेको प्रसङ्गले पनि कांग्रेसभित्रको वैचारिक विचलनलाई संकेत गर्छ।
चुनावी परिणामले एउटा स्पष्ट सन्देश दिएको छ— संगठन, रणनीति र जनविश्वास तीनै तहमा सुधारको आवश्यकता छ। हारको कारणलाई केवल “अन्तरघात” मा सीमित गर्नु आत्मसमिक्षाबाट पन्छिने प्रयास मात्र हुनेछ। यदि जीतको श्रेय नेतृत्वले लिने हो भने, हारको जिम्मेवारी पनि नेतृत्वले लिनु नै लोकतान्त्रिक अभ्यासको आधारभूत मान्यता हो। यस सन्दर्भमा सभापति गगन थापा माथि उठेका प्रश्नहरू स्वाभाविक र जायज देखिन्छन्।
कांग्रेसले पछिल्लो समय आफ्नो वैचारिक धरातलमा अस्पष्टता देखाएको आरोप पनि बढ्दै गएको छ। कम्युनिस्ट शक्तिहरूसँगको समीकरणले रणनीतिक लाभभन्दा बढी वैचारिक अन्योल सिर्जना गरेको हो कि भन्ने बहस उठ्नु अस्वाभाविक होइन। पार्टीको मौलिक पहिचान कमजोर हुँदा दीर्घकालीन रूपमा जनविश्वास घट्ने जोखिम रहन्छ।
राजनीति केवल नारा, सामाजिक सञ्जाल वा चिया पसलका बहसले चल्दैन। यसका लागि स्पष्ट विचार, ठोस नीति र सुदृढ संगठन आवश्यक हुन्छ। कांग्रेसले आफ्नो विचार, नीति र दिशाबारे गम्भीर र खुला बहस गर्नुपर्ने समय आएको छ— चाहे त्यो आन्तरिक लोकतन्त्रको पुनर्स्थापना होस् वा वैचारिक स्पष्टताको पुनर्निर्माण।
अझै पनि समय बितिसकेको छैन। “एउटा पुषले जाडो जाँदैन” भनेझैं, एकपटकको हारले कांग्रेसको सम्भावना समाप्त हुँदैन। तर त्यसका लागि आत्मसमिक्षा, जिम्मेवारी ग्रहण र सुधारप्रति स्पष्ट प्रतिबद्धता अनिवार्य छ।
अन्ततः, कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो। त्यसैले आलोचना विरोध होइन, सुधारको आधार हो। यदि कांग्रेसले यसलाई समयमै बुझ्न सकेन भने भविष्यमा यसको अस्तित्व नै संकटमा पर्न सक्छ— र त्यो अवस्था आउँदा यसलाई “टुकी बालेर खोज्नुपर्ने” दिन नआउला भन्न सकिन्न ।
लेखक पृथ्वीनारायण क्याम्पसमा राजनीति शास्त्रमा स्नाकोत्तरका बिधार्थी हुनुहुन्छ ।
प्रकाशित मिति २०८२ चैत ५ गते बिहिबार ०३:१२