कांग्रेसद्वारा विप्लवलाई निषेध नगर्न सरकारलाई र हिंसा नगर्न विप्लवलाई आग्रह

कांग्रेसद्वारा विप्लवलाई निषेध नगर्न सरकारलाई र हिंसा नगर्न विप्लवलाई आग्रह

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १३ गते सोमबार ०७:३९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंका विभिन्न स्थानमा भएका बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति आफ्नो ध्यान गम्भीर ढंगले आकृष्ट बताएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंका विभिन्न स्थानमा भएका बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति आफ्नो ध्यान गम्भीर ढंगले आकृष्ट बताएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा भनिएको छ,‘‘नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धीहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद रुपमा लिएको छ ।’’

‘‘बम विष्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ,’’ वक्तव्यमा भनिएको छ,‘‘नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्ततः कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।’’

ललितपुरमा केही महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’, आइतबार  काठमाडौँमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको जनाउँदै कांग्रेसले भनेको छ,‘‘ नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दछ । ’’

वक्तव्यमा घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेस सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह समेत गरेको छ ।

प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार ०७:३९
प्रतिक्रिया दिनुहोस