एनआईसी एसिया बैंकको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

एनआईसी एसिया बैंकको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर भर्न सकिने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार ११:११

एनआईसी एसिया बैंकले पहिलोपटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ। ग्राहकबाट आफ्नो...

एनआईसी एसिया बैंकले पहिलोपटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ।

ग्राहकबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत ‘डब्लुडब्लुडब्लु डट आईसर्भ डट एनआईसी एसिया बैंक डटकम’मा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने भएका हुन्।

उक्त लिंकभित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ। उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई विना कुनै भौचर सोझै काउण्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ। बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ।

चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको छ।

साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आईसर्भमार्फत सेवा दिइरहेको छ। उक्त सेवाहरू आईसर्भमार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकको भनाइ छ।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ११:११
प्रतिक्रिया दिनुहोस