भारतको लोकसभामा तीन नेपालीभाषी सांसद

भारतको लोकसभामा तीन नेपालीभाषी सांसद

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ ११ गते शनिवार ०६:१३

भारतको लोकसभा चुनावमा तीन नेपालीभाषी निर्वाचित भएका छन्। दुई जना भारतीय जनता पार्टीबाट निर्वाचित भएका हुन् भने एक जना क्षेत्रीय दल सिक्किम क्रान्तिकारी मोर्चाबाट निर्वाचित भए। सिक्किमबाट इन्द्रहाङ लिम्बु, पश्चिम बंगालको...

भारतको लोकसभा चुनावमा तीन नेपालीभाषी निर्वाचित भएका छन्।

दुई जना भारतीय जनता पार्टीबाट निर्वाचित भएका हुन् भने एक जना क्षेत्रीय दल सिक्किम क्रान्तिकारी मोर्चाबाट निर्वाचित भए।

सिक्किमबाट इन्द्रहाङ लिम्बु, पश्चिम बंगालको दार्जीलिङ निर्वाचन क्षेत्रबाट राजु विष्ट र उत्तराखण्डको तेहरी गढवाला निर्वाचन क्षेत्रबाट मालाराज्यलक्ष्मी शाह निर्वाचित भएका छन्।

शाह यसअघि सो निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन् भने विष्ट र लिम्बु पहिलो पटक लोकसभामा पुगेका हुन्।

शाहको जन्म काठमाडौंमा भएको हो। अर्जुन शम्शेर जंगबहादुर राणाकी छोरी मालाको सन् २०१२ मा भएको लोकसभाको उप निर्वाचन जितेर पहिलो पटक लोकसभामा पुगेकी थिइन्।

शाहले यो सहित तेस्रो पटक चुनाव जितेकी हुन्। यस पटकको निर्वाचन भने उनले तीन लाख मतान्तरले जितेकी छिन्। उनले कांग्रेसका प्रितम सिंहलाई पराजित गरेकी हुन्। यस निर्वाचन क्षेत्रमा उत्तर काशी, तेहरी र देहरादुन जिल्ला रहेको छ।

त्यसैगरी राजु विष्टले पश्चिम बंगालको दार्जिलिङ निर्वाचन क्षेत्रबाट चुनाव जिते। विष्टले त्रिणमुल कांग्रेसका अमरसिंह राईलाई पराजित गरेका हुन्। पूर्वाेत्तर राज्य मणिपुरका ३३ वर्षका विष्टले दिल्लीमा व्यवसाय गर्दै आएका थिए। राष्ट्रिय स्वयम सेवक संघमा सक्रिय रहेका विष्टको उम्मेदवारीलाई धेरैले आश्चर्यमा रुपमा लिएका थिए।

वार्षिक ५० अर्ब भारतीय रुपैयाँको व्यापार गर्ने कम्पनी सूर्य रोशनीका उनी कार्यकारी निर्देशक हुन्। विष्ट करिब चार लाख भोट अन्तरले विजयी भएका हुन्।

यसैगरी ३१ वर्ष इन्द्रहाङ लिम्बु सिक्किम क्रान्तिकारी मोर्चाबाट विजयी भए। उनले पवन चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फ्रन्टका उम्मेदवार देकबहादुर कटवाललाई पराजित गरेका हुन्।

सुब्बाको राजनीतिक दल मोर्चाले विधानसभाको निर्वाचनमा बहुमत ल्याएको छ। सुब्बाले एघार हजार मतान्तरले जीत हासिल गरेका हुन्। सिक्किमबाट लोकसभामा एक सदस्य मात्रै निर्वाचित हुने गरेका छन्।

प्रकाशित मिति २०७६ जेठ ११ गते शनिवार ०६:१३
प्रतिक्रिया दिनुहोस